राजनीति

जनकपुर बम विस्फोट : उच्च अदालतले घटायो साहको कैद सजाय

मिथिला राज्य माग गर्दै जनकपुरधामको रामानन्द चोकमा धर्ना बसेका कलाकर्मी लक्षित बम विस्फोट मुद्दामा जिल्ला अदालत धनुषाले सञ्जय साहलाई दोषी ठहर गरी जन्मकैदको फैसला सुनाएको थियो। तर उच्च अदालतले सो फैसला उल्ट्याइदिएको छ।

धनुषा अदालतले साहलाई ज्यान मार्ने उद्योगमा १२ वर्ष कैद सजाय र कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय तोकेको थियो।

उच्च अदालत जनकपुरका न्यायाधीशद्वय धीरबहादुर चन्द र रमेश ढकालको संयुक्त इजलासबाट कर्तव्य ज्यान मुद्दामा कसुरदार मानिएको भए पनि जन्मकैद सजाय नहुने फैसला गरिएको उच्च अदालत जनकपुरका रजिस्ट्रार खड्गराज अधिकारीले बताए। 

उच्च अदालतका न्यायाधीशद्वय चन्द र ढकालको संयुक्त इजलासले उनको सजाय घटाएर सात वर्ष निर्धारण गरेको हो। कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय र ज्यान मार्ने उद्योगमा १२ वर्षको सजाय गर्दा चर्को हुने भन्दै सजाय कम गरेको जनाइएको छ।

रजिस्ट्रार अधिकारीका अनुसार सञ्जय साह बम काण्डमा प्रत्यक्ष संलग्न नभएको, बम विस्फोटन गराउने मुकेश चौधरीलाई निर्देशन दिएको भए पनि उनको प्रत्यक्ष संलग्नता नभएको तथा षड्यन्त्र गर्ने कार्यमा संलग्न भएको हुनाले कसुरदार ठहर गरिए पनि सुरु जिल्ला अदालतले गरेको सजाय चर्को भएको भन्दै उक्त फैसलालाई बदर गरेर सजाय घटाइएको हो।

‘घटनामा उसको प्रत्यक्ष संलग्नता नभएको, षड्यन्त्रकारीको भूमिका मात्र निर्वाह गरेको हुनाले कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय गर्दा न्यायोचित नदेखिने आदेश गरिएको छ,’ अधिकारीले भने। 

ज्यान मार्ने उद्योगमा १२ वर्षको सजायलाई उच्च अदालतले घटाएर सात वर्ष गरे पनि कर्तव्य ज्यान मुद्दामा उक्त सजायमध्ये कुनै एक सजाय निर्धारण गर्न आगामी कात्तिक १५ गतेको समय निर्धारण गरिएको छ। ‘कात्तिक १५ गते हुने बहस, मिसिल, प्रमाण आदिबाट दुईमध्ये कुनै एक सजाय अदालतले निर्धारण गर्नेछ,’ उनले भने।

रिमोट कन्ट्रोलमार्फत बम विस्फोट

मिथिला राज्य संघर्ष समितिको आयोजनामा मिथिला राज्य माग्दै धर्ना बसेका मिथिला कलाकर्मीलाई लक्षित गरी २०६९ वैशाख १८ गते धर्नास्थलमा रिमोट कन्ट्रोलमार्फत बम विस्फोट गराइएको थियो। आरडिएक्सयुक्त बम विस्फोट हुँदा पाँचजनाको ज्यान गएको थियो। 

तराई जनतान्त्रिक पार्टी मधेस नामक भूमिगत संगठनका अध्यक्ष मुकेश चौधरीले उक्त विस्फोटको जिम्मेवारी लिएका थिए। प्रहरीले उनलाई २०७० फागुनमा पक्राउ गर्‍यो। चौधरीले प्रहरीसँगको बयानमा घटनाको योजनाकार सञ्जय साह भएको बताएका थिए। 

साह त्यो बेला संविधानसभा सदस्य (सभासद्) थिए। २०७१ वैशाखमा नेपाल प्रहरीले भारतबाट साहलाई गिरफ्तार गरेको थियो। त्यो बेला धनुषा प्रहरी प्रमुख एसपी उत्तम सुवेदी थिए। पक्राउ परेपछि साह सभासद्बाट निलम्बित भए।

मन्त्री हुँदै कैदीसम्म

२०६३ माघमा भएको मधेस विद्रोहअघिसम्म सञ्जय साह ‘सञ्जय टकला’ नामले चर्चित थिए। प्रदेश २ मा वीरगन्जदेखि सप्तरीसम्म उनको बोेलबाला थियो। उनी नेपाली कांग्रेसका क्रियाशील सदस्य थिए। क्रान्तिकारी स्वभावका उनी माघको मधेस विद्रोह उत्कर्षमा पुगेपछि कांग्रेस त्यागेर आन्दोलनमा होमिए। 

आन्दोलनको रापतापकै बेला भएको पहिलो संविधानसभा निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमबाट धनुषा–४ बाट टिकट पाएका उनी एमालेका स्थापित नेता रघुवीर महासेठलाई हराउँदै संविधानसभा सदस्य बने। 

त्यसपछि साह फोरमको धनुषा जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य बने। विजयकुमार गच्छदार भौतिक योजना तथा निर्माणमन्त्री भएका बेला उनी सोही मन्त्रालयमा राज्यमन्त्री बने।

गच्छदार फोरमबाट अलग भएर फोरम लोकतान्त्रिक गठन गरेपछि साह पनि सँगै गए। गच्छदारसँग उनी धेरै दिन टिक्न सकेनन्। उनले आफ्नै नेतृत्वमा मधेस क्रान्ति फोरम गठन गरे। दोस्रो संविधानसभाको निर्वाचनअघि मधेस क्रान्ति फोरमलाई राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीमा विलय गराएर उनी वरिष्ठ उपाध्यक्ष बने। 

दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेसका उम्मेदवार रामसरोज यादवलाई हराएर साह पुनः दोस्रोपटक संविधानसभा सदस्य बने। त्यसलगत्तै जनकपुर बम काण्ड भयो। उनी सो घटनाका अभियुक्त बनाइए। अहिले अदालतको आदेशमा उनी कारागारमा कैद भुक्तान गर्दैछन्।

जेलमै पनि सञ्जय ‘क्रेज’

गत प्रतिनिधिसभा चुनावमा धनुषा–३ बाट राष्ट्रिय जनता पार्टी (राजपा) बाट राजेन्द्र महतो र नेपाली कांग्रेसबाट विमलेन्द्र निधि उम्मेदवार थिए। दुवैबीचको चुनावी टक्करले देशको राजनीति बजारलाई खुबै तताएको थियो। मधेसमा चुनाव जित्न चाहिने तत्त्वहरूमध्ये जातीय समुदायले पनि महत्त्वपूर्ण भूमिका खेल्छ। 

यस निर्वाचन क्षेत्रमा जनकपुर उपमहानगरपालिकाका २५ वडामध्ये १७ वटा, नगराइन नगरपालिका, विदेह नगरपालिका–९ तथा मुखियापट्टि मुसरनिया र धनौजी गाउँपालिका पर्छन्। यहाँ वैश्य समुदायको बाहुल्य छ। यो समुदायमा तेली, सुडी, कानू, कलवार, रौनियार, कसेरा, कथवनिया, सुनार, लहेरी, ठठेरीलगायत जात पर्छन्। यस मतलाई आफ्नो पोल्टामा पार्न जो सफल हुन्छ, जित उसैको हुन्छ भने कुरा निधि र महतोले राम्ररी बुझेका थिए। 

महतोलाई उति सारो सकस थिएन। कारण, उनी यसै जातीय समुदायका हुन। तर निधिका लागि यो मतले निकै महत्त्व राख्थ्यो। निधिका लागि यो मत एकमुष्ट आफ्नो पोल्टामा पार्नुभन्दा मत विभाजन गराउनु उत्तम विकल्प थियो।वैश्य (सुडी, कलवार, तेलीलगायत) समुदायको मत विभाजन गरेर महतोलाई कमजोर बनाउन विभिन्न अपराध मुद्दामा पुर्पक्षका लागि जेलमा रहेका सञ्जय साह प्रयोग भए। उनले जेलबाटै मत प्रभावित गर्ने खेल सुरु गरेका थिए। 

साहले जेलबाटै महतोलाई मतदान नगर्न अभियान थालेका थिए। महतोलाई मतदान नगर्न भन्दै साहले सिरहा कारागारबाट ‘रेडियो अन्तर्वार्ता’ समेत दिएका थिए। कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दाअन्तर्गत धनुषा जिल्ला अदालतको आदेशमा साह २०७१ वैशाख २९ गते पुर्पक्षका लागि सिरहा कारागार चलान भएका थिए। 

तेस्रो मधेस आन्दोलनको उत्कर्षमा २०७२ भदौ १७ गते उनलाई रातारात काठमाडौंस्थित डिल्ली बजार कारागार सरुवा गरिएको थियो। प्रतिनिधिसभा निर्वाचनका बेला उनी पुनः सिरहा कारागार ल्याइएका थिए। उनलाई २०७४ मंसिर ७ गते सिरहा जिल्ला कारागार ल्याइएको थियो। जेलबाट चुनावी चलखेल सुरु गरेको घटना सार्वजनिक भएपछि साहलाई पुनः काठमाडौं सारिएको थियो।

६ वर्षपछि सुनवाइ

जनकपुरमा भएको बम विस्फोटको मुद्दामाथि ६ वर्षपछि सुनवाइ सुरु भएको थियो। २०६९ वैशाख १८ गते पाँच जनाको ज्यान जानेगरी भएको बम विस्फोट मुद्दाको सुनवाइ २०७५ चैतमा सुरु भएको थियो। प्रहरीले घटनाको अनुसन्धानपछि २०६९ जेठ २९ गते पहिलो अभियोगपत्र दर्ता गराएको थियो। 

मुद्दामा मुकेश चौधरी, राजन मुक्तिलगायतलाई मुख्य अभियुक्त एवं जयप्रकाश चौधरी, मुकेशकुमार कर्ण, सुरेशकुमार कर्ण, रिपेन्द्र झा र आदित्य देवलाई अभियुक्त बनाइएको थियो। २०७० चैत २४ गते प्रहरीले पूरक अभियोगपत्र दर्ता गरी मुख्य अभियुक्तमा तत्कालीन सांसद सञ्जयकुमार साहको नाम अघि सारेको थियो। साहसँगै फूलकुमार यादव, नागराज भन्ने उमेश तिवारी, सुजितकुमार पाण्डेय र ओमप्रकाश यादवलाई अभियुक्त बनाइएको थियो।

प्रकाशित: १९ आश्विन २०७८ ०३:३५ मंगलबार

मिथिला राज्य माग उच्च अदालत जनकपुरका रजिस्ट्रार खड्गराज अधिकारी उच्च अदालत जनकपुरका न्यायाधीशद्वय धीरबहादुर चन्द र रमेश ढकाल जेलमै पनि सञ्जय ‘क्रेज’