राजनीति

निधिको निवासमा तीन नेताबीच भेट, मिलेर जाने सहमति

नेपाली कांग्रेसको सभापतिका दाबेदार तीन नेताबीच मिलेर जाने सहमति भएको छ। महाधिवेशनको मिति नजिकिँदै गर्दा सोमबार नेताहरु विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइरालाबीच भेट भएको थियो। भेटमा महाधिवेशनमा सहमति जुटाएर मिलेर जाने सहमति भएको सिंहका सहयोगी युपी लामिछानेले जानकारी दिए।

तीन नेता बानेश्वरस्थित निधि निवासमा भेला भएका थिए। लामिछानेकाअनुसार तीन नेताबीच तीन सहमति भएको छ।

पहिलो बाँकी रहेका जिल्लाको क्रियाशील सदस्यता विवाद तत्कालै टुंगोमा पुर्‍याउने, क्रियाशील सदस्यको कारण महाधिवेन तालिका प्रभावित हुन नदिने र तोकिएकै समयमा सम्पन्न गराउनुपर्नेमा सहमत भएका छन्।

दोस्रो तीनै नेताले सरकारलाई तत्काल पूर्णता दिनुपर्ने निष्कर्ष निकालेका छन्। तेस्रो सहमति जुटाएर मिलेर जाने र थप छलफल भेटघाटको दायरा बढाउँदै जाने निष्कर्ष निकालेको लामिछानेले बताए।

निधिका प्रेस सहयोगी रामजी दाहालले बानेश्वरमा तीन नेताबीच महाधिवेशन र सभापति पदमा उम्मेदवारीबारे गम्भीर छलफल भएको जानकारी दिए।

पछिल्लो समय तीन नेताबीच भेटघाट बाक्लिएको छ। निधिले औपचारिक रुपमै सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् भने प्रकाशमान र शंशाक पनि सभापतिमा उठ्ने तयारीमा छन्।

प्रकाशित: १८ आश्विन २०७८ १३:५६ सोमबार