राजनीति

काँग्रेस कर्मचारी युनियन अध्यक्षमा भगवति

नवनिर्वाचित युनियन अध्यक्ष खतिवडा प्रमाणपत्र लिँदै । तस्बिरः महेश्वर

नेपाली काँग्रेसनिकट कर्मचारीहरुको संगठन ‘निजामति कर्मचारी युनियन’को उदयपुर अध्यक्षमा भगवति खतिवडा निर्वाचित भएकी छिन्। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न आठौं जिल्ला अधिवेशनले खतिवडाको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको हो।  

समितिका उपाध्यक्षमा पुष्पराज सापकोटा र सुशील भण्डारी छानिएका छन् भने सचिव उत्तम भट्टराई र सहसचिवमा रुद्र सापकोटा चयन भएका छन्। त्यस्तै सदस्यमा खड्ग आलेमगर, दिलबहादुर धौलाकोटी, रणबहादुर खड्का, कुमारसिंह थापा, नेत्र पौडेल र लक्ष्यबहादुर श्रेष्ठ चयन भएको निर्वाचन समिति संयोजक पेशल दाहालले बताए। अधिवेशनले पहलमान खड्का, तेजबहादुर पोखरेल, बाबुराम फुँयाल र ढकराज कटुवाललाई केन्द्रीय प्रतिनिधिमा चयन गरेको छ। खड्का निवर्तमान अध्यक्ष हुन्।  

अध्यक्षमा दुईजना आकांक्षी देखिएको भए पनि केन्द्रीय सदस्य तथा प्रतिनिधिहरुको पहलमा चुनाव नगराई सर्वसम्मत समिति चयन भएको हो। अध्यक्षका अर्का आकांक्षी निवर्तमान उपाध्यक्ष भुपध्वज रायमाझीले भने सर्वसम्मत नेतृत्व चयनको नाममा आफूलाई चुनावी प्रतिस्पर्धा गर्नै नदिएको गुनासो गरेका छन्। उनले आफ्नो चुनावी प्रक्रियाबाट स्वस्थ्य प्रतिस्पर्धा गर्ने अधिकार हनन गरेर लोकतान्त्रिक विधिको धज्जी काढेको गुनासो गरेका छन्।  

केन्द्रीय सदस्य तथा निर्वाचन समितिले निर्विरोध नेतृत्व चयन गर्ने नाममा चुनावी प्रतिस्पर्धा गर्ने लोकतान्त्रिक अधिकार कुण्ठित गरेको भन्दै उनले असन्तुष्टि जनाएका हुन्। ‘म पनि डेढ दशकदेखि संगठनमा रहेर उपाध्यक्षसमेत हुँदै युनियनको विकास र प्रवर्द्धनप्रति प्रतिबद्ध एक इमान्दार सदस्य हुँ’, रायमाझीले दुःखेसो गरे ‘सरसल्लाह गरेको भए पनि आफू जबरजस्ती नगर्ने विचार लिएको तर, निर्वाचन समितिले एकतर्फी पेलेर लाने काम गरेकोमा दुःख लाग्यो।’  

युनियन प्रतिनिधिले भने महिला उम्मेद्वार भएकाले पहिलो पटक समावेशी अनुहारको रुपमा खतिवडालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको बताएका छन्। युनियनका केन्द्रीय सदस्य तथा पूर्व अध्यक्ष मानबहादुर वनले अध्यक्षका आकांक्षी रायमाझी संगठनप्रति प्रतिबद्ध हुँदाहुँदै पनि पहिलोपटक महिला अध्यक्षको दावी परेपछि ग्राह्यता दिएर खतिवडालाई सर्वसम्मत अध्यक्ष बनाइएको बताए।

प्रकाशित: १७ आश्विन २०७८ ०८:४३ आइतबार

काँग्रेस कर्मचारी युनियन भगवति खतिवडा