राजनीति

एमालेको विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनउपर छलफल जारी

नेकपा एमालेको विधान महाधिवेशनमा प्रस्तुत दस्तावेजहरुमाथि समूहगत छलफल भईरहेको छ।

ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा जारी विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्ताव र उपमहासचिव एवम् संगठन विभाग प्रमुख विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि १० वटा समूह बनाएर छलफल भईरहेको हो। 

महाधिवेशनमा देशभरका ६ हजार ३ सय ४७ जना प्रतिनिधिहरु सहभागी भएका छन्। १० वटा समूह बनाएर तीन वटै प्रस्तावमाथि बिहान ८ बजेबाटै छलफल सुरु गरिएको पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

एमालेले पहिलो पटक पार्टीको नीति र विधि निर्माणका लागि छुट्टै विधान महाधिवेशनको आयोजना गरेको हो। भोलि (आईतबार) प्रस्तुत प्रतिवेदनहरुमाथि प्रतिनिधिहरुले उठाएका प्रश्नको जवाफ दिएपछि सो महाधिवेशन समापन हुनेछ। अध्यक्ष ओलीले शुक्रबार सो महाधिवेशनको उद्घाटन गर्दै पार्टी विभाजनको मुख्य योजनाकार पुष्पकमल दाहाल र माधवकुमार नेपाल भएको आरोप लगाएका थिए। 

त्यसैगरी उनले सर्वोच्च अदालत, निर्वाचन आयोग र सभामुख अग्नीप्रसाद सापकोटाले पनि आफ्नो पार्टी विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै आपत्ति जनाएका थिए।

१० औं राष्ट्रिय महाधिवेशन आगामी मंसीर दोस्रो साता हुने र त्यसले पार्टीको नेतृत्व चयन गर्ने एमालेले जनाएको छ। 

प्रकाशित: १६ आश्विन २०७८ ०८:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App