राजनीति

एमाले विधान महाधिवेशन व्यवस्थित गर्न ५ कमिटी, १० समूह

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रथम विधान महाधिवेशनलाई  व्यवस्थित गर्न पाँच कमिटी गठन गरिएको छ। ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु भएको सो महाधिवेशनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न अध्यक्ष मण्डल, प्रस्ताव मस्यौदा कमिटी, सुझाव अध्ययन कमिटी, बहस नोट कमिटी र प्रचार समन्वय कमिटी गठन गरिएको छ।

त्यसरी गठन गरिएका कमिटीहरुमध्ये अध्यक्ष मण्डल कमिटीको अध्यक्षमा केपी शर्मा ओली रहेका छन् भने सदस्यहरुमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा छन्।

त्यस्तै, प्रस्ताव मस्यौदा कमिटीमा भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, यामलाल कंडेल, डा राजन भट्टराई, पद्मा अर्याल र लीला भण्डारी, सुझाव अध्ययन कमिटीमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, डा बिन्दा पाण्डे, ठाकुर गैरे, ज्वालाकुमारी साह र डा शिवमाया तुम्बाहाम्फे रहेकी छन्।

बहस नोट कमिटीमा मणिचन्द्र थापा, भानुभक्त ढकाल, विष्णु रिजाल, गोविन्द नेपाली, मनोजजंग थापा, सिता सुन्दास, सरोज यादव र लीलबहादुर थापा मगर र प्रचार समन्वय कमिटी योगेश भट्टराई, खिमलाल भट्टराई र सूर्य थापा रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए।

उनले कूल ६ हजार ३ सय ४७ प्रतिनिधिहरु सहभागी रहेको महाधिवेशनको उद्घाटन सत्रपछि आज अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव कमरेड ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख कमरेड विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेको बताए। प्रस्तुत दस्तावेजहरुमाथि छलफल गर्न प्रतिनिधिहरुलाई १० वटा समूहमा विभाजन गरिएको छ र छलफल भोलि बिहान ८ बजे सुरु हुने पनि उनले जनाए।

प्रकाशित: १५ आश्विन २०७८ १४:३७ शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी (एमाले) एमाले प्रथम विधान महाधिवेशन सुरू