राजनीति

पूर्वमाओवादीहरु एकै ठाउँमा आउने कुरा भावनात्मक : भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वमाओवादीहरु एकै ठाउँमा आउने कुरा भावनात्मक कुरामात्रै भएको बताएका छन्। पूर्वमाओवादी एकठाउँमा आउने भन्दा पनि नयाँ विचार र संगठनको आवश्यकता रहेको औँल्याउँदै उनले पूर्व माओवादीहरु एकै ठाउँमा नभई नयाँ ठाउँमा आवद्ध हुनुपर्ने बताए।

‘भावनाको हदसम्म साथीहरुले भनेको कुरा सही छ। तर त्यो भावनाले ज्ञान र विज्ञानमा पनि त परिणत गर्नुपर्यो। विवेकसँग ज्ञानमा पनि बदल्नुपर्यो। त्यो भनेको नयाँ विचार हो। नयाँ विचार सँगसँगै पार्टीको पनि नयाँ संगठन, नयाँ ढाँचा हो। त्यसैले त्यसमा पहिले बहस छलफल गरौँ’, उनले भने, ‘अनि त्यसको आधारमा हामी मात्रै भएर मात्रै पनि त पुग्दैन। नयाँ जनसंख्या आयो, तिनलाई समेट्नु परेन? हामीले हिजोका मात्रै गला मिलाएर बस्छौ भनेर हुन्छ? सही विचार, नीति, कार्यक्रम र योजनाको आधारमा फेरि नयाँ ढंगले चाहिँ हामी अगाडी बढौँ।’

अध्यक्ष भट्टराईले केपी ओलीले गरेको प्रतिगमन परास्त भएपनि प्रतिगमनको नयाँ संस्करण आउन सक्ने पनि बताए। अर्ली इलेक्शनको नाममा पुनः कांग्रेस र एमालेलाई अगाडी ल्याउने र माओवादीलगायतका मधेश जनजाति आन्दोलनबाट आएको उपलब्धीलाई उल्ट्याउने प्रयत्न भइरहेको उनले बताए। अध्यक्ष भट्टराईले अग्रगामी शक्तिहरु प्रतिगमनको विरुद्ध एक हुनुपर्ने र आवश्यकता अनुसार चुनावी तालमेलसम्म गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए।

प्रकाशित: १५ आश्विन २०७८ १३:२७ शुक्रबार

अध्यक्ष बाबुराम भट्टराई