राजनीति

पूर्व माओवादीहरु एक हुनुपर्ने बेला आएकाे छ: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न समूहमा रहेका पूर्व माओवादीहरु एक हुनुपर्ने आवश्यकता रहेको बताएका छन्।  

शुक्रबार प्रगतिवादी कवि दिलीपकुमार श्रेष्ठको ‘सपनाको पाण्डुलिपि’ गीतिसंग्रह विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनलाई भ्रष्टिकरण र बिर्सजित गर्ने षड्यन्त्र भइरहेको भन्दै अहिलेको आवश्यकता पूर्वमाओवादीहरु एक ठाउँमा उभिनुपर्ने रहेको बताए। माओवादी आन्दोलनलाई बिद्रुपिकरण र बिर्सजन गर्ने षड्यन्त्रविरुद्ध सबै एकजुट हुनुपर्ने उनले बताए। यसका निम्ति सबैले आ–आफ्नो ठाउँबाट आत्मसमिक्षा गर्नुपर्ने जरुरी रहेको उनले उल्लेख गरे।  

अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरुले आफुहरुलाई सखाप पार्ने षड्यन्त्र गरेकाले त्यसका विरुद्ध नयाँ खालको जनयुद्धको खोजी गर्नुपर्ने बताए। लाखौँ जनतालाई लिएर आन्दोलित भई वर्तमान निर्वाचन प्रणालीलाई परिवर्तन गर्न सकिने उनले बताए। सबै एकभए शासकिय स्वरुप फेर्न र वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचान र अधिकारलाई धेरै माथि पुर्‍याउन सकिने उनले उल्लेख गरे।

प्रकाशित: १५ आश्विन २०७८ १३:१७ शुक्रबार

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड