राजनीति

लिपुलेकको मुद्दा उठाउन श्रेष्ठको निर्देशन

माओवादी केन्द्रका नेता नारायणकाजी  श्रेष्ठले लिपुलेक, कालापानी र लिम्पिया धुराको मुद्दा उठाउन पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीलाई निर्देशन दिएका छन्। 

भक्तपुरको सल्लाघारीमा सोमबार सम्पन्न अखिलको वाग्मती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै श्रेष्ठले शैक्षिक र राजनीतिक मुद्दाका अलावा राष्ट्रिय मुद्दा उठाउन अखिललाई निर्देशन दिएका हुन्। ‘लिपुलेक लिम्पियाधुरा र कालापनीका समस्या उठाउनु विद्यार्थी संगठनको कर्तव्य र दायित्व हो,’ उनले भने।

केपी ओलीका कारण राजनीति र सांस्कृतिक रूपमा समेत भ्रस्टीकरण भएकाले एमालेसँग सम्बन्ध विच्छेद गर्नुपरेको धारणा राख्दै श्रेष्ठले  पार्टी संगठनमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको अखिल क्रान्तिकारीका प्रवक्ता जिपी मैनालीले जानकारी दिए। 

कार्यक्रममा माओवादी नेता हितमान शाक्यसहित केन्द्रीय नेताहरू नारायण दाहाल र दिलीप प्रजापतिले  प्रशिक्षण दिएका थिए। अखिल क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङ महासचिव उत्तम अधिकारीसहित पूर्व अध्यक्षहरू लेखनाथ न्यौपाने र रत्न ढकालले बैठकलाई सम्बोधन गरेका थिए।

प्रकाशित: १२ आश्विन २०७८ ०४:४७ मंगलबार

नारायणकाजी श्रेष्ठ अखिल क्रान्तिकारी माओवादी केन्द्र लिपुलेक कालापानी र लिम्पिया धुरा