राजनीति

आफ्नो पक्षीय उम्मेदवार नभएपछि गच्छदारले सारे निर्वाचन मिति

काँग्रेसका नेता बिजयकुमार गच्छदारको गृहनगर सुनसरी दुहवीमा चुनावी प्रतिस्पर्धा हुने भएपछि निर्वाचन मिति सारिएको छ। दुहवी नगरपालिकामा काँग्रेसको १४ औं महाधिवेसनका लागि सभापतिका आकांक्षी दुई जनाबाहेक गच्छदारले शुक्रबार रातभर सहमति गराएर तेस्रो व्यक्तिलाई सर्वसहमत बनाउन प्रयास गरेपनि सम्भव नभएपछि चुनाव हुने मिति सारेका हुन्।

दुहवी नगर सभापतिको लागि शुरुवातदेखि नै मेयर बेदनारायण गच्छदार र खेम नारायण चौधरी सभापतिमा उठ्ने घोषणा गरेर चुनाबी प्रचारमा लागेका थिए। दुवै जना विजय गच्छदारका आफन्त हुन्। तर, पछिल्लो समय वेद भने वरिष्ठ नेता पौडेल पक्षीयमा लागेका छन्। ‘विजय दाईले वेद र खेमनारायण दुवैलाई बसाएर तेस्रो व्यक्ति टेकचन्द विश्वासलाई सभापति बनाउन सहमति गराउन लामो प्रयास गरेपनि वेदले त्यसलाई अस्वीकार गरे,’ दुहवीकै काँग्रेसका अगुवा नेताले भने। विजय काँग्रेसका सभापति शेरबहादुर देउवा पक्षधर हुन्। विजयले आफ्नो पकड भएको क्षेत्रमा आफ्नै समूहलाई मात्र स्थान दिने गरेका छन्।

वेदले विजयको प्रस्ताव अस्वीकार गरेसँगै निर्वाचनलाई प्रभावित पार्नका लागि मिति सारिएको नेपाली काँग्रेस जिल्ला कार्यसमितिले सुनसरीको जिकिर छ। दुहवीमा वेदले विजयको प्रस्ताव अस्वीकार गरेसँग चार जनामा सभापतिको लागि उम्मेदवारी परेको निर्वाचन अधिकृत सूर्य निरौलाले बताए। सभापतिमा वेद, टेकचन्द विश्वास, तारिकचन्द सरदार र रमेशकुमार चौधरीको उम्मेदवारी परेको हो। जसमा वेद र टेकचन्दबीच प्रतिस्पर्धा हुने भएको छ। तारिकचन्द र रमेश भने गुटगत रुपमा कम खुलेका छन्।

सुनसरीमा पछिल्लो समय पार्टी आन्तरिक चुनावका लागि ‘हेबी वेट’ का नेता सक्रिय छन्। यहाँ हेबी वेटका नेता बिजयकुमार गच्छदार, ज्ञानेन्द्रबहादुर कार्की, मिन विश्वकर्मा, नेपाली काँग्रेस प्रमुख प्रतिपक्ष दल प्रदेश नं. १ का संसदीय दलका नेता राजीव कोइराला, नेपाल विद्यार्थी संघका केन्द्रीय सभापति राजीव ढुंगानालगायतका नेता क्षेत्रीय प्रतिनिधी रिझाउन नेताहरु सक्रिय भएका छन्।

हेबी वेटका आफू अनुकुल नभएकै कारण सुनसरीको भोक्राहा(नरसिंह गाउँपालिकामा दुवै पक्षबीच विवाद र झडप हुँदा निर्वाचन स्थगित भएको छ। भोक्रहा(नरसिंह काँग्रेस नेता तथा मन्त्री ज्ञानेन्द्र कार्कीको निर्वाचन क्षेत्र अन्तर्गत पर्छ। यहाँ देउवा समूहले आफ्नो उम्मेदवार जिताउन हेबी वेटका नेता सक्रिय हुनु र भोक्राहा नरसिंह देउवा इतर समूहको पकड हुँदा दुई पक्षीय विवाद र झडपको स्थिति भएको हो।

जिल्ला सभापति राजीव कोइरालाका अनुसार विवाद साम्य पार्न प्रयास गरेपनि सम्भव नभएको बताए। जिल्लाका अन्य स्थानमध्ये बर्जु गाउँपालिकामा कृष्ण संग्रैला, गढीमा कमलनारायण चौधरी र हरिनगरमा नुनु अनसारी सर्वसहमत विजयी भएका छन्। कोशीमा सुलेमान अनसारी विजयी भएका छन् भने अन्य स्थान धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, बराह, इनरुवा तथा रामधुनी नगरपालिकामा भएको निर्वाचनको मतगणना सुरु भएको छ।

प्रकाशित: ९ आश्विन २०७८ १३:३७ शनिबार

बिजयकुमार गच्छदार