राजनीति

कांग्रेसभित्रै ‘कमजोर लोकतन्त्र’

मुलुकको पुरानो र लोकतान्त्रिक दलका रूपमा नेपाली कांग्रेसलाई लिने गरिएको छ। तर, उसका गतिविधि लोकतान्त्रिक विधि र प्रक्रिया अनुसार भएनन् र छैन भनेर स्वयः कांग्रेसकै नेता तथा कार्यकर्ताले आलोचना गर्दै आएका छन्। 

अझ पार्टीको आवधिक निर्वाचन (महाधिवेशन)समेत गर्न नसकेको भन्दै कांग्रेस तिनका नेताहरूको आलोचना हुँदै आएको छ। तर पनि कांग्रेसको १४औं महाधिवेशन अझै सुनिश्चित भएको छैन। भदौ १८ बाट वडा अधिवेशन सुरु भए पनि एक दर्जनभन्दा बढी जिल्लामा अझै क्रियाशील सदस्यको टुंगो लाग्न नसक्दा पूर्वर्निधारित अधिवेशनको कार्यतालिका प्रभावित भएको छ।

क्रियाशील सदस्यताको विषयलाई लिएर पार्टी केन्द्रीय कार्यालय सानेपामा महिनौंदेखि धर्ना, अनशन जारी छ। सदस्यताको विषयमा पक्ष र विपक्षमा नेताहरूको जुलुस र धर्नाले कांग्रेसको महाधिवेशन होइन अन्य दलसँग चुनावी प्रतिस्पर्धा भइरहे जस्तो देखिन्छ। थरीथरीका धर्ना, जुलुस, अनशनले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दिनहुँ जात्रा भइरहे जस्तो देखिन्छ।  

त्यहीक्रमले बिहीबार पनि सानेपामा निरन्तर पायो। सदस्यताको विषयलाई लिएर कांग्रेस नेता तथा प्रदेश २ का खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहले सर्लाहीको बरहथवा–४ का वडाध्यक्ष लाखिन्द्र महतोलाई सानेपामै केही दिनअघि हातपात र दुव्र्यवहार गरेका थिए। 

त्यसको विरोधमा सर्लाही–४ का सांसद अमरेशकुमार सिंहसहितले मन्त्री सिंहविरुद्ध नाराबाजी गर्नुको साथै संस्थापन इतरका नेताहरू नेता रामचन्द्र पौडेल समूहको समर्थन रह्यो। प्रकाशमान सिंह र शेखर कोइरालाले प्रदर्शनकैबीच सम्बोधन गरे।  

गुण्डागर्दी गर्नेहरू पराजित हुने बताउँदै केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टी कब्जा गर्ने हिसाबले जिल्ला–जिल्लामा नेताहरूले गुण्डागर्दी गरिरहेको बताए। त्यसलाई स्वीकार गर्न नसकिने बताउँदै उनले भने, ‘गुन्दागर्दी गर्ने यस्ता तत्वहरू जिल्ला जिल्लामा परास्त हुन्छन् शान्तिपूर्ण आन्दोलन गर्नुस्। 

संयमित ढंगले गरिने आन्दोलनमा हाम्रो समर्थन छ।’ सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा विधि विधानभन्दा बाहिरबाट करिब पाँच सय जनालाई क्रियाशील सदस्यता दिइएको भन्दै अमरेशकुमार सिंहलगायत आन्दोलन र धर्नामा छन्।  

त्यसलगत्तै मन्त्री वीरेन्द्रप्रसाद सिंहसहितको समुह जुलुससहित पार्टी कार्यालय पुगेको थियो। सांसद अमरेशकुमार सिंहलाई कारबाही गर्नुपर्ने मागसहित केन्द्रीय कार्यालय पुगेका सचिव कृष्ण दुलालमार्फत ज्ञापनपत्र बुझाएका छन्।  

सर्लाही मात्र नभएर प्रदेश नम्बर २ का अधिकांश जिल्लाको सदस्यता विवाद कायमै छ। त्यसलाई लिएर सानेपामा विभिन्न पक्ष र समूहरू अनशन र धर्नामा छन्। सदस्यता छानबिन सुरु भएयता कांग्रेस कार्यालयमा विरोध, धर्ना, नाराबाजी र अनशन टुटेको छैन।

प्रकाशित: ८ आश्विन २०७८ ०२:४२ शुक्रबार

कांग्रेसको १४औं महाधिवेशन मुलुकको पुरानो र लोकतान्त्रिक दल