राजनीति

खड्का परराष्ट्रमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको झण्डै अढाई महिनापछि मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनले बुधबार कांग्रेस सांसद डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेका हुन्। मन्त्री खड्कालाई मंगलबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराइन्।  

शपथ ग्रहणपछि खड्काले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर पद बहाली गरे। पद बहालीलगत्तै सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री खड्काले विश्व परिवेश तथा दक्षिण एसियाको अवस्थासमेत संक्रमणकालीन अवस्थातर्फ गइरहेकाले त्यसले नेपालमा पार्न सक्ने प्रभावलाई ध्यानमा राखेर परराष्ट्र मन्त्रालय जिम्मेवारी साथ अघि बढ्नुपर्ने स्थिति रहेको बताए।  

उनले आन्तरिक सम्बन्धमा सन्तुलन कायम गर्दै र राष्ट्रिय हितलाई प्रवद्र्धन गर्दै जिम्मेवारीपूर्ण तरिकाले अघि बढ्नुपर्ने बताए। मन्त्री खड्काले राष्ट्रिय सहमतिमा परराष्ट्र मामिलालाई गतिशील र आधुनिक प्रविधियुक्त बनाउँदै मुलुकको हित प्रवद्र्धन आफ्नो प्राथमिकता रहेको बताए। 

उनले आफूले इन्डोप्यासिफिक रणनीति, बिआरआई, एमसिसी तथा हालै अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको नयाँ सुरक्षा गठबन्धनलगायत विषयमा अध्ययन गर्ने र मुलुकको प्रतिकूल हुने कुनै काम नगर्ने बताए। यस्ता विषयमा सिर्जना भइरहेका तथ्यगत र मिथ्यागत कुरालाई ध्यान दिँदै नेपालको राष्ट्रिय हित प्रवद्र्धन गर्ने र सबै मुलुकसँग सन्तुलित सम्बन्ध कायम गर्ने उनले बताए।  

राजदूत नियुक्त गर्दा राजनीतिक आस्था वा आफ्ना खास व्यक्ति नभई कूटनीति र सम्बन्धित मुलुकको संस्कृति, संस्कार र अन्तर्राष्ट्रिय भाषाबारे जानकार व्यक्ति छान्नुपर्ने बताए। आफ्नो मुलुकको हित प्रबद्र्धन गर्न सक्ने व्यक्तिलाई मात्र राजदूत बनाउनुपर्ने उनको भनाइ छ। उनले चीन र भारतसँगको सम्बन्ध अत्यन्तै सन्तुलित र घनिष्ठ हुने पनि बताए।  

२००५ सालमा जन्मिएका खड्का २०२३ सालदेखि राजनीतिमा सक्रिय छन्। पछिल्ला तीन निर्वाचन २०६४, २०७० र २०७४ मा उदयपुरबाट सांसद निर्वाचित भएका खड्का यसअघि २०७० सालमा शुशील कोइराला नेतृत्वको सरकारमा सहरी विकास मन्त्री बनेका थिए।

२०५७ सालमा उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका थिए। भारतको पुनेबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका उनले कृष्णप्रसाद भट्टराई दोस्रो पटक प्रधानमन्त्री हुँदा सल्लाहकारका रूपमा काम गरेका थिए।  

नवनियुक्त परराष्ट्रमन्त्री खड्का संयुक्त राष्ट्रसंघको ७६औं महासभालाई सम्बोधन गर्न बुधबार बेलुका नै नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका प्रस्थान गरेका छन्। राष्ट्रसंघ मुख्यालय न्युयोर्कमा उनले साइडलाइन बैठकअन्तर्गत सार्क राष्ट्रका परराष्ट्रमन्त्रीसँग पनि भेटने कार्यक्रम छ। 

उनले विभिन्न मुलुकका समकक्षीसँग तथा संयुक्त राष्ट्रसंघका अधिकारीहरूसँग पनि भेट गर्ने कार्यक्रम छ। उनको प्रतिनिधिमण्डलमा परराष्ट्रसचिव भरतराज पौड्याल, उच्च सरकारी अधिकारी तथा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर पाण्डेलगायत रहनेछन्।  

यसैबीच, भारतीय विदेश मन्त्री डा. एस जयशंकरले परराष्ट्रमन्त्रीमा नियुक्त भएकोमा खड्कालाई बधाई दिएका छन्। उनले खड्कालाई बधाई दिँदै आफू मिलेर काम उत्सुक रहेको बताएका छन्।

प्रकाशित: ७ आश्विन २०७८ ००:१६ बिहीबार

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा