राजनीति

‘सरकारले राजदूतलाई फिर्ता बोलाएर देशको बेइज्जत गरायो’ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संकटका बेलामा काम गरेका राजदूतलाई गठबन्धनको सरकारले फिर्ता बोलाएर देशकै बेइज्जत गराएको बताएका छन्। नेकपा एमाले बाँकेले नेपालगन्जमा बुधबार आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकारले फिर्ता बोलाएका राजदूत एमालेको संगठित कार्यकर्ता नभई वैदेशिक मामिलामा विज्ञता हासिल गरेका व्यक्ति भएको दाबी गरे।  

‘महत्वपूर्ण मित्र राष्ट्रमा रहेका राजदूतलाई पुर्वाग्रही रुपले फिर्ता बोलाउँदा देशकै बेइज्जत भएको छ, उनीहरु नेकपा एमालेका कार्यकर्ता भएकै कारण राजदूत भएका होइनन्,’ अध्यक्ष ओलीले भने ‘वैदेशिक मामलामा विज्ञता हासिल गरेका, पढेलेखेका व्यक्ति राजदूत भएर गएका हुन्।’  

वर्तमान सरकारले देश बनाउने काम गर्न नसकेको उनको आरोप छ। ‘यो सरकारको ध्यान देश बनाउनेमा छैन, देशको स्वाभिमान बचाउनेमा छैन,’ ओलीले भने ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीको हाम्रो भूभाग फिर्ता ल्याउन सक्दैन, त्यो समस्या मात्र हो भनेर भन्छ।’

सरकारले छिमेकी र वैदेशिक सम्बन्ध बिगारेको पूर्वप्रधानमन्त्री ओलीले बताए। परमादेशबाट बनेको गठबन्धन सरकार आफै समस्यामा परेको भन्दै ओलीले गंगटाको उखान सुनाउँदै व्यंग्य गरे। ‘अहिलेको गठबन्धन दलहरुको हालत गंगटाको जस्तै भएको छ, बिचरा दुई÷तीन जना मन्त्रीमात्रै लखर–लखर हिँडिरहेका छन्,’ उनले भने। अर्को प्रसंगमा ओलीले माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डको भोट माग्ने ठाउँ नै नरहेको जिकिर गरे।  

‘उनीहरुको आउने चुनावमा भोट माग्न जाने ठाउँ नै छैन, एक अर्काको मुख हेरेर बस्नुपर्ने स्थिति हुनेछ,’ उनले भने। माधव नेपाल चोइटिएर गएपनि एमालेलाई कुनै क्षति नगरेको अध्यक्ष ओलीले ठोकुवा गरे।  ‘अलिकति पार्टी चोइटियो, माधव नेपाल सानो चोइटो लिएर गए, उनको साथमा थोरै मान्छेहरु छन्,’ उनले भने ‘पार्टी कमजोर भयो कि भन्ने कुनै चिन्ता लिनुपर्दैन, मेचीदेखि महाकालीसम्म एमाले बलियो छ।’  

सो क्रममा एमाले स्थायी समिति सदस्य एवम् लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीमा कार्यकर्ताको भविष्य नभएको बताए। ‘प्रचण्ड विभाजनको प्रतिक हो, केपी ओली एकताको प्रतिक हो,’ पोखरेलले भने। यो सरकारले बनाउने कामभन्दा बनेका कुरालाई भत्काउने काम गरेको उनको आरोप छ।

प्रकाशित: ६ आश्विन २०७८ १२:५३ बुधबार

नेकपा एमाले