राजनीति

गठबन्धन आगामी चुनावसम्मै: प्रचण्ड

कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुरधाममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड'। तस्बिरःनागरिक

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गठबन्धन कुनै पनि हालतमा नटुट्ने दाबी गरेका छन्। संविधान र राष्ट्रको रक्षाका लागि निर्माण भएको गठबन्धनमा कुनै पनि विवाद नरहेकाले नटुट्ने दाबी उनले गरेका हुन्।

तीन दिनभित्रै सरकार विस्तार हुने बताउँदै उनले भने,‘असोज ४ वा ५ गतेसम्म सरकार विस्तार हुन्छ। प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा शनिबार कार्यकर्ता प्रशिक्षणपछि संचारकर्मीसँग प्रष्ट्याए, ‘विवादका कारण नभई प्राविधिक कारणले सरकार विस्तारमा ढिलाइ भएको हो।’

एमसिसीका कारण गठबन्धन टुट्दैछ भन्ने विषय प्रष्ट्याउँदै दहालले भने, ‘एमसिसीका कारण गठबन्धन टुट्दैन, ढुक्क हुनुस्।’ यो गठबन्धन लोकतन्त्र, गणतन्त्र, संघीयता, संविधानको रक्षाका लागि बनेको हो उनले भने,‘सजिलै टुट्नेवाला छैन। यो गठबन्धन आगामी चुनावसम्म कायम रहने उनले बताए।

एमसिसीलाई परिमार्जनसहित सर्वदलीय संयन्त्र मार्फत् पारित गर्नुपर्ने उनको भनाई थियो। सरकारले पूर्णता पाउन ढिलाई भएपछि गठबन्धनमा गडबड भएको भ्रम फैलाइयो उनले भने, ‘गठबन्धनमा कुनै असन्तुष्टि छैन। हामी एक ढिक्का छौं।’

दाहालले पहिलेको एमसिसी प्रस्तावमा रहेका विषयहरु बिगारिएकाले यसलाई बिना परिमार्जन संसद्बाट पारित गर्न नमिल्ने बताए। ‘अमेरिकी संसद्मा एमसिसी इण्डो प्यासिफिक स्ट्राटेजीको अंग हो भन्ने विषय चर्चामा आएपछि नेपालमा विवाद झन चर्कियो,’ उनले भने।  

दाहाललाई जनकपुरधाम विमानस्थलमा माओवादी प्रदेश २ इन्चार्ज गणेश साह, सह–इन्चार्जद्वय महेन्द्र पासवान र बिश्वनाथ साह, प्रदेश २ सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले स्वागत गरेका थिए।

प्रकाशित: २ आश्विन २०७८ १५:०९ शनिबार

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'