राजनीति

एमालेबाट चोइटिएर गएकाहरु समाप्त हुन्छन्ः महासचिव पोखरेल

नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेलले एमालेबाट चोइटिएर गएकाहरु समाप्त हुने बताएका छन्।

शनिबार नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेबाट चोइटिएर जानेहरुको भविष्य नभएको बताए। उनले एमालेको चरित्र विभाजन र विखण्डन नभइ एकताको पक्षपोषण गर्ने रहेको उल्लेख गर्दै विगतमा भएको विभाजन पनि नटिकेको बताए।  

विभाजनको भविष्य अन्धकार रहेको र विभाजन धेरै नटिकेर समाप्त हुने उनले बताए।  

यस्तै, कार्यक्रममा बोल्दै एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले निजामती सेवामा भ्रष्टाचार मौलाएको भन्दै निजामती सेवा भित्र शुद्धिकरण आवश्यक रहेको बताए। उनले भ्रष्टाचारको अन्त्य नगरी देशलाई समृद्ध बनाउन नसकिने धारणा व्यक्त गरे। उनले कर्मचारीहरुले आफ्नो जिम्मेवारीप्रति उदासिन हुने हो भने देशको विकास नहुने बताए।

उनले प्रशासन सञ्चालनको कार्यशैलीमा आमुल परिवर्तन गर्नुपर्ने पनि बताए। प्रशासनलाई उच्च प्रविधिहरुसँग जोड्दै आधुनिकीकरण गर्न जरुरी रहेको उनको भनाई छ।

प्रकाशित: २ आश्विन २०७८ १२:०० शनिबार