राजनीति

दाहाललाई एक्लिने चिन्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू अब एक्लिँदै जाने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन्। अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओले जीवनको अन्तिम कालमा एक्लिएको दृष्टान्त पेश गर्दै आफूलाई पनि कहिलेकाहीँ १/२ वर्षपछि यस्तै एक्लै हुने हो कि भन्ने चिन्ता लाग्ने गरेको बताएका हुन्।

आइतबार ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको विमोचन कार्यक्रममा बोल्दै उनले आफ्नो दिमागमा कहिलेकाहीँ आफू एक्लै हुने खालको चिन्तन आउने गरेको उल्लेख गर्दै त्यसबारे चिन्तनमनन गरी दिन पनि वाम बुद्धिजीविहरूलाई आग्रह गरे। ‘कहिलेकाहीँ म पनि यस्तै हुँदो रहेछ। १/२ वर्ष जतिमा एक्लो पो हुने हो कि र माओले भनेजस्तै ‘म एक्लो हुँ ’ भन्नुपर्ने हो कि ? कहिलेकाहीँ यस्तो चित्र पनि मेरो दिमागमा आउँछ। 

तपाईंहरू यो पनि चिन्तनमनन गरिदिनुहोला,’ उनले भने, ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशामा सन्दर्भमा यो रोग के हो ? पुस्तकका टिप्पणीकारहरूले प्रचण्डको नाम आउँछ कि भनेर किन डराउनुभयो ? यो व्यक्तिगत कुरा हो र ? व्यक्तिगत प्रशंसा खोजेको कुरो हो र?,’  

उनले केपी ओलीप्रति संकेत गर्दै पुस्तकमा नहुनुपर्ने मान्छेको सन्दर्भमा धेरै लेखिएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे। उनले नेपालको कम्युनिस्ट आन्दोलनको कार्यदिशालाई सही ढंगले अघि बढाउन विगतमा भएका इतिहासहरूको सही समीक्षा गरेर अघि बढनुपर्ने आवश्यकता पनि औंल्याए। 

त्यसक्रममा दाहालले फुटेर केही लछारपाटो नलागेकाले अब जुट्नुको विकल्प नभएको समेत बताएका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीबाट धेरै पाठ सिकेको बताउदै अध्यक्ष दाहालले अब जुटेर जाँदा वैज्ञानिक समाजवाद आउने दावी समेत गरे। कार्यक्रममा नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरू पनि सहभागी थिए।

प्रकाशित: २८ भाद्र २०७८ ०१:५६ सोमबार

तत्कालीन नेकपा माओवादीतत्कालीन नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल