राजनीति

संशोधन गरेरमात्र एमसिसी पास : सांसद राई

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश नम्बर १ का सांसद रामकुमार राई पासाङले एमसिसीलाई यथावत अवस्थामा पास गर्न नसकिने बताएका छन्। शुक्रबार खोटाङको दिक्तेलमा नेकपा माओवादी केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य एवं सांसद राईले केही प्रावधान संशोधन गरेरमात्र एमसिसी पास गर्न सकिने बताएका हुन्।

उनले एमसिसी पास गरिए वर्तमान गठबन्धन सरकार नै फेरबदल संकेत गरेका छन्। ‘एक पक्ष एमसिसी पास गर्नुपर्छ भन्नेमा छन्। संशोधन गरेर पास गर्नुपर्छ भन्ने अर्को थरिका छन्,’ सांसद राईले भने, ‘यो राष्ट्रका लागि घातक छ। राष्ट्रियता खतरामा पर्छ। त्यसकारण संसोधन गरेरमात्र स्वीकृत गर्नुपर्छ भन्नेमा हाम्रो पाटी सुरुदेखि अहिलेसम्म अडिग छ। पास गरिएको अवस्थामा गठबन्धनबाट बाहिरिन पर्ने अवस्था पनि आउन सक्छ।’

दुई तिहाईको सरकार हुँदा पनि मतभेदका कारण पास हुन नसकेको एमसिसी तत्काल पास हुने अवस्था भने नदेखिएको राईको भनाइ थियो। केन्द्रीय सदस्य एवं सांसद राईले सत्तामा बसेका बेला एमसिसी पास गर्नुपर्छ भन्ने एमालेले नेता सत्ताबाट बाहिरिएपछि एमसिसी पास गर्नुहुन्न भन्दै द्वैध चरित्र देखाएको आरोप लगाए। ‘सत्तामा रहँदा एमसिसी पास गर्नुपर्छ भन्छ, सत्ताबाट बाहिर आएपछि पास गर्नुहुन्न भनिरहेका छन्,’ राईले भने, ‘यहाँ राजनैतिक नैतिकता देखिएन। यो बेइमानी हो।’ उनले प्रदेश नम्बर १ र बागमती प्रदेशमा चाँडै गठवन्धनको सरकार बन्ने दावी गरे।

प्रकाशित: २५ भाद्र २०७८ ०९:१५ शुक्रबार

नेकपा (माओवादी केन्द्र)