राजनीति

विष भई थाहा पाइकन खाए के हुन्छ ? एमसिसी त्यही हो : प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले एमसिसी देशका लागि घातक रहेको बताउँदै त्यसलाई पारित गर्न नहुने बताएका छन्। शुक्रबार नेकपा एमालेका सांसदहरुले गरेको अवरोधका बीच चालू प्रतिनीधि सभा बैठकमा सांसद सुवालले सो बताएका हुन्।

‘अमेरिकी साम्राज्यवादले संसारलाई नै दुःख दिने कुरा संसारका सबै जनतालाई थाहा भइसकेको विषय हो । यो यथार्थ सबै नेपालीहरुले बुझिसकेका छन्। सांसदहरु दुविधामा पर्नु आवश्यक छैन’, उनले भने, ‘बुढो बाघले सिकार गर्न नसकेपछि चुरा देखाएर झम्टने कथा हामीले सुनेका छौं, अमेरिकी अधिकारीहरुले सयथरी कुरा गर्दैछन्। हामी उनीहरुको सयथरी कुरामा फस्नु हुन्न। एमसिसी संविधानभन्दा माथि होइन भन्दै तल राख्ने अमेरिकी साम्राज्यवादको चाल हो।’

सभामुख अग्निप्रसाद सापकोटाले संसद अवरुद्ध गरेका नेकपा(एमाले) का सांसदहरुलाई संसद अवरुद्ध नगर्न अनुरोध गरेका थिए। नाराबाजीका बीच चलेको संसदमा सांसद सुवालले भने, ‘विष भन्ने थाहा पाइ खाए के हुन्छ ? एमसिसी त्यही हो।’

प्रकाशित: २५ भाद्र २०७८ ०८:५३ शुक्रबार

नेपाल मजदुर किसान पार्टी प्रतिनीधि सभा