राजनीति

निर्वाचन आयोग र सभामुखविरुद्धको रिट न्यायाधीश खड्काको इजलासमा

नेपाल कम्यूनिष्ट पार्टी (एमाले) ले निर्वाचन आयोग र सभामुख अग्नि प्रसाद सापकोटा विरुद्ध दायर गरेको रिटमा न्याधीश मीरा खड्काको एकल इजलासमा परेको छ। शुक्रबारबाट प्रारम्भिक सुनुवाइ हुने रिट खड्काको एकल इजलासमा पेशी तोकिएको हो।

एमालेले सर्वोच्च अदालतमा सभामुख अग्नि सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्ध बुधबार रिट निवेदन दर्ता गरेको थियो। एमालेका १४ जना प्रतिनिधिसभा सदस्यलाई गरिएको कारबाहीलाई कार्यान्वयन नगरेको भन्दै परमादेश जारी गर्न रिट निवेदनमा माग गरिएको छ।

एमालले १४ जना आफ्ना दलका प्रतिनिधिसभा सदस्यलाई गत साउन २५ को निर्णयले निष्कासन गरेको थियो। पार्टीले कारबाही गरिसकेका १४ सांसदको समेत सनाखत गरी नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गर्नु त्रुटिपूर्ण भएको भन्दै त्यसलाई बदर गर्न रिट निवेदनमा माग गरिएको छ।

निर्वाचन आयोगले प्रक्रिया मिचेर धेरै सङ्ख्या पुर्याएर नेकपा (एकीकृत समाजवादी) दर्ता गरेको र नयाँदिल्लीमा रहेका एमाले नेता झलनाथ खनालको सनाखत हुनै नसक्ने अवस्थामा समेत गैरकानुनीरुपमा स्वीकार गरेको रिट निवेदनमा छ।  

साथै दलले निष्कासन गरेका दुईजना लुम्बिनी प्रदेशसभा सदस्यलाई यथावत राख्ने गरी भएको निर्णय बदर गरी गैरकानूनी कार्य नगर्न परमादेशको आदेशको माग गरिएको छ।

प्रकाशित: १८ भाद्र २०७८ ०५:५१ शुक्रबार

न्यायाधीश खड्काको इजलासमा सभामुखविरुद्धको रिट