राजनीति

सरकार धेरै टिक्न नसक्ने : पौडेल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले वर्तमान सत्तारुढ गठबन्धन अस्वभाविक र अप्राकृतिक भएकाले धेरै नटिक्ने पनि बताएका छन्।

बिहीबार राष्ट्रिय युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले सो बताएका हुन्। उनले गठबन्धनभित्रको विभिन्न स्वार्थ समूहका कारण देशको गतिरोधलाई अन्त्य गर्नका निम्ति निर्वाचनको विकल्प नभएको प्रमाणित हुँदै गरेको भन्दै उनले अबको विकल्प ताजा जनादेश नै भएको बताए। उनले वर्तमान सत्ता गठबन्धन दलहरुकै कारण मुलुक चाँडै निर्वाचनमा जाने समेत बताए।

‘अब फेरि अहिलेको सत्तारुढ गठबन्धनभित्रका विभिन्न किसिमका स्वार्थ समूहहरुले अब त्यो किसिमको परिस्थिति जुन निकाल्दैछन्, मुलुक फेरि एकपटक छिट्टै यो गतिरोधलाई अन्त्य गर्नको निम्ति फेरि संसद विघटन गर्ने र पुनः ताजा जनादेशमा जानुको कुनै विकल्प देखिँदैन भन्ने कुरा फेरि प्रमाणित हुँदैछ। हिजो केपी शर्मा ओलीले त्यो कदम चलिरहँदा त्यसलाई गलत भनेर व्याख्या गर्नेहरु, अब ओलीले चालेका कदमहरु राष्ट्रिय आवश्यकता रहेछ भन्ने कुरा आम जनताले महशुस हुनेगरी मुलुकको राष्ट्रिय राजनीति अब त्योतर्फ जाने हामीले अनुमान पनि गरिरहेका छौँ र जानुपर्छ। अस्वभाविक र अप्राकृतिक जुन गठबन्धन थियो। यो गठबन्धन पनि धेरै टिक्नेवाला छैन।’ उनले भने।

अध्यक्ष पौडेलले केपी शर्मा ओली नेतृत्वको सरकारले दुई खर्ब भन्दा बढी रकम युवाहरुको उद्यमशीलता र स्वरोजगारका लागि छुट्याएको भएपनि राज्यका निकायले पारदर्शी रुपमा युवाहरुमाझ वितरण नगरेको बताए। ओली नेतृत्वको सरकारले दिलाएको युवामैत्री कार्यक्रमको सबैले लाभ लिनु पाउनुपर्ने उनको माग थियो। 

प्रकाशित: १७ भाद्र २०७८ १२:३२ बिहीबार

राष्ट्रिय युवा संघ नेपाल किरण पौडेल