राजनीति

प्रदेश १ का १० सांसद समाजवादीमा

प्रदेश १ मा नेकपा एमालेका १० जना सांसद एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)मा जाने भएका छन्। नेकपा एमालेका ५१ जना सांसदमध्ये १० जना (एकीकृत समाजवादी)मा जाने निश्चित भएको हो।  

१० जना सांसद (एकीकृत समाजवादी)मा जाने निश्चित भइसकेको नेकपा एमालेका सांसद राजन राईले जानकारी दिए। ‘हामी १० जना एकढिक्का छौं’ उनले भने। राईका अनुसार बुधबार प्रदेश १ का सांसदहरूले नयाँ पार्टी रोजेको निर्वाचन आयोगलाई जानकारी दिनेछन्। उनले भने ‘हामी भोलि नै निर्वाचन आयोगमा गएर नयाँ पार्टी रोजेको जानकारी दिंदैछौं। उनले आफूहरूले नयाँ पार्टी रोजेसँगै भर्खरै नेकपा एमालेका नेता भीम आचार्यको नेतृत्वमा बनेको नयाँ सरकार अल्पमतमा पर्ने बताए। ‘हामीले नयाँ पार्टी रोजेसँगै  वर्तमान सरकार अल्पमतमा पर्छ,’ उनले भने, ‘यो सरकारलाई विस्थापित गर्ने विपक्षी गठबन्धनका दलहरूबीच सहमति भइसकेकाले एक महिनाभित्रै यो सरकार विस्थापित हुन्छ।’

नेकपा एमालेका १० जनामात्रै सांसद नयाँ पार्टीमा गएको अवस्थामा भीम आचार्य नेतृत्वको नेकपा एमालेको सरकार अल्पमतमा पर्ने निश्चित छ। तर, अझैसम्म पनि नेकपा एमालेका दुवै खेमाका नेताहरू सांसद तानातानमा तल्लीन छन्।  

निर्वाचन आयोगमा औपचारिक रुपमा सांसदहरूले दल छानेको जानकारी नगराएसम्म कति  सांसद कता रहन्छन् भन्ने यकिन गर्ने अवस्था छैन। तर, एमालेका १० जना सांसदले नयाँ पार्टी रोजे भीम आचार्य नेतृत्वको सरकार एक महिनामै ढल्ने निश्चित छ। सरकार लामो समय टिक्न नसक्ने आँकलन भइरहेकाले मुख्यमन्त्री भीम आचार्यले सरकारलाई पूर्णता दिन सकिरहेका छैनन्।

आचार्य मुख्यमन्त्रीमा नियुक्त भएपछि दुईजना मन्त्री थपेर ३ सदस्यीय मन्त्रिपरिषद् गठन गरिए पनि मन्त्रिपरिषद्ले अझैसम्म पूर्णता पाउन सकिरहेको छैन। प्रदेश १ मा नेकपा एमालेका ५२, नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टीका १, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन्। प्रदेशसभाका ९३ जना सांसद मध्ये १ जना सांसदको पद रिक्त रहेको छ।

यस आधारमा प्रदेश १ मा सरकार गठन गर्नका लागि बहुमत पु¥याउन ४७ जना सांसद आवश्यक पर्छ।

प्रकाशित: १५ भाद्र २०७८ १३:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App