राजनीति

म कुनै पार्टीसँग एकता गर्दिनः माधव नेपाल

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरु कुनै पार्टीसँग एकता नगर्ने बताएका छन्। आइतबार पार्टीको संसदीय दलको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टीले अहिले कुनै पार्टीसँग एकता नगर्ने बताएका हुन्।  

सञ्चार माध्यममा एकीकृत समाजवादी पार्टी अन्य पार्टीसँग एकता गर्न लागेको, अरुको पार्टीमा गएर विलिन हुन लागेको भन्ने प्रचार भइरहेको भन्दै उनले त्यस्तो प्रचारमा कुनै सत्यता नभएको उल्लेख गरे। आफ्नो पार्टीको तल्लो तहसम्म पार्टीका कमिटीहरु विद्यमान रहेको भन्दै उनले पार्टी एकता नहुने स्पष्ट पारे।

उनले भने,‘अहिले नै हामी अरु कुनै पार्टीसँग एकता गर्न गइरहेका छैनौँ। पार्टी एकता हुने छैन। यो पनि प्रष्ट पार्न चाहान्छु म। कतिचोटी भन्नुपर्छ प्रष्ट पार्न चाहान्छु।'

अध्यक्ष नेपालले अर्थतन्त्रलाई गतिशिल, चलायमान र समृद्ध बनाउन र जनतालाई गरिबीको चक्रबाट मुक्त गर्नका लागि आफूहरुको ध्यान केन्द्रित हुने बताए। उनले पार्टीमा युवाहरुलाई महत्वपूर्ण जिम्मेवारी दिएर अगाडि बढाउन तयार रहेको पनि बताए।  

‘हामीले हाम्रो अर्थतन्त्रलाई गतिशिल, चलायमान र समृद्ध बनाउनका लागि, नेपाली जनतालाई गरिबीको चक्रबाट मुक्त गर्नको लागि, युवाहरुलाई व्यापक रुपमा आशा जगाउनका लागि, रोजगारीको प्रबन्ध गर्नका लागि, सिप विकास गर्नका लागि, युवाहरुको खुबी, क्षमता, प्रतिभाहरुलाई उजागर गर्नका लागि हाम्रो ध्यान केन्द्रित हुनेछ', उनले भने, 'पार्टीभित्र पनि हामी युवाहरुको ठूलो प्रवेश पार्टीको सदस्य बनाउनका लागि, कमिटीका जिम्मेवारीहरु प्रदान गर्नलाई र भोलि गएर नयाँ पुस्तालाई एकपछि अर्को जिम्मेवारी सुम्पिनका लागि तयार भएर बसेका छौँ।’

उनले आफूहरु मार्क्सवादबाट निर्देशित भएर वर्गिय दृष्टिकोण आत्मसात् गर्दै अघि बढ्ने बताए। नेता, कार्यकर्ताहरुले दृष्टिकोणमा विचलन आउन नदिन र गैर सर्वहारा प्रवृति हटाउन विशेष ध्यान दिनुपर्ने उनको भनाई छ।

प्रकाशित: १३ भाद्र २०७८ ०९:३५ आइतबार

नेकपा(एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल