राजनीति

ओलीले ढोका बन्द गरिदिएपछि नयाँ पार्टी खोल्न बाध्य भए: नेपाल

प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टीमा ढोका बन्द गरिदिएपछि बाध्य भएर नयाँ पार्टी खोल्नु परेको बताएका छन्।  

अध्यक्ष नेपालले मंगलवार चन्द्रागिरीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गरेको र आफुहरुलाई पार्टीबाट निष्काशन गरेका कारण बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको बताएका हुन्। आफु लगायतका १४ सांसदलाई पार्टीबाट निष्काशन गरेपछि आफुहरु सँग नयाँ पार्टी दर्ता गर्नुको विकल्प नरहेको उनले बताए।  

उनले भने, ‘अब केपी ओलीले एकलौटी पार्टी कब्जा गर्ने स्थिति बनिसकेपछि, त्यहाँ जाने ढोका बन्द भइसकेपछि, त्यसमा पनि १४ जना सांसदलाई पुरै पार्टीबाट निष्काशन गरिसकेपछि, हामीलाई पनि पार्टीबाट पुरै निष्काशन गरिसकेपछि हाम्रो सामु अरु कुनै विकल्प बाँकी रहेन। 

निष्काशित भइसकेपछि हामीले कि त घुँडा टेक्नुपथ्र्यो, चुप लागेर सडकमा बस्नुपथ्र्यो, कि त हामीले अर्को क्रान्तिकारी पार्टी निर्माण गरेर हाम्रो नेपाली राजनीतिको, कम्युनिष्ट आन्दोलनको इतिहासमा विद्रोहीहरुले नै सफलता हासिल गरेको विगतको इतिहास, दक्षिणपन्थी अवसरवाद पराजित गरिएको त्यो इतिहासलाई हामीले साक्षि राखेर नयाँ कदम चाल्ने काम गरेका छौँ। र नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) नामको पार्टी दर्ता गरेका छौँ।’

अध्यक्ष नेपालले आफुहरुसँग एमाले विभाजनका लागि आवश्यक २० प्रतिशत संख्या भन्दाबढी केन्द्रीय कमिटी र संसद दुवैतिर पुग्ने दाबी पनि गरे। उनले एमाले एकिकृत बनाउन भन्दै वार्तामा जुटेका र वार्तामा नजुटि भुमिका खेलेका नेताहरुसँग पनि एकतावद्ध भएर जाने कोसिस गरिरहेको उल्लेख गरे। केपी ओली र आफुहरुको कित्ता छुट्टीएको उल्लेख गर्दै उनले आगामी दिनमा अन्य वामपन्थी पार्टीहरुसँग चुनावी तालमेल गर्न तयार रहेको बताए।

प्रकाशित: ८ भाद्र २०७८ १०:२८ मंगलबार

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल