राजनीति

‘प्रचण्ड’ का कारण एमालेभित्र समस्या : कार्की

प्रदेश नम्बर १ का आन्तरिक मामिलामन्त्री तथा नेकपा (एमाले) का प्रभावशाली युवा नेता हिक्मत कार्कीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कारण एमालेभित्र समस्या उत्पन्न भएको बताएका छन्। उनले एमाले र माओवादी केन्द्रको एकता गर्नु नै ऐतिहासिक भूल भएको जिकिर गर्दै भने, ‘राष्ट्रिय राजनीतिमा प्रचण्डको कहिल्यै पनि सकारात्मक भूमिका भएन। उहाँले कहिल्यै पनि कन्स्ट्रक्टिभ रोल देखिएन। उहाँको नीति भनेको नै ढाडमा टेकेर टाउकोमा हान्ने हो। प्रचण्डको खलनायकी भूमिकाका कारण एमालेको एकता चीरस्थायी हुन सकेन।’

राजधानीमा आयोजित एक कार्यक्रममा उनले एमाले र माओवादीको एकतासँगै एमालेका नेताहरु ओली, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमबीच समस्या उत्पन्न भएको टिप्पणी गरे। उनले भने, ‘हाम्रा नेताहरु प्रचण्डको भूलभूलैयामा पर्नुभयो।’  

मन्त्री कार्कीले प्रचण्डमा एकल भूमिकामा स्थापित हुने चाहना बढी हाबी भएको पनि सुनाए। अहिलेसम्म ३४ वर्षसम्म प्रचण्डले आफ्नो पार्टीको महाधिवेशन पनि नगरेको उनको टिप्पणी छ। अहिले पनि प्रचण्ड राष्ट्रिय सम्मेलनबाट नेता घोषणा गरेर नै आउने उनको दाबी छ।  

उनले पार्टी अध्यक्ष केपी ओलीलाई आफूहरुले देवता नभनेको र दुधले नुहाएको व्यक्ति नभनेको पनि सुनाए। उनले भने, ‘उहाँमा पनि मानवीय कमजोरी होला। तर, यस विषयमा छलफल गरौं। पार्टीभित्र बहस गरौं।’ उनले ७० वर्ष पुगेको माधव नेपालले नयाँ पार्टी खोलेकोमा व्यंग्यसमेत गरे। उनले भने, ‘अब यो भौतिकवादमा अध्यात्म पनि थप्नुपर्छ जस्तो लागेको छ। होइन भने यो वनपरास्त गर्ने, शान्तिपूर्ण जीवन यापन गर्ने बेलामा ७० वर्ष पुगेको माधव नेपाल किन नयाँ पार्टी खोल्नुहुन्थ्यो र?’ उनले पार्टी विभाजनको दोष केपी ओलीलाई मात्रै दिनु पनि गल्ती हुने बताए।

प्रकाशित: ५ भाद्र २०७८ १३:०५ शनिबार

नेकपा (एमाले) प्रचण्ड