राजनीति

सार्कको आपतकालीन बैठक बोलाउन माग

नेपाली नागरिकको एक समूहले नेपाल सरकारलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्ष राष्ट्रको हैसियतले सार्क राष्ट्रको आपत्कालीन बैठक बोलाएर अविलम्ब अफगानीलगायत नागरिकको सुरक्षा तथा सम्भावित शरणार्थीको समस्या सम्बोधन गर्न अपिल गरेका छन्।

जगन्नाथ लामिछाने, प्रेम सापकोटा, डा. विशाल ढकाल, शिवनाथ यादव, प्रदीप परियार, दावा लोमु शेर्पा, डा. जीवन क्षेत्री, सुमन अधिकारी, शेहनाज बानु, भोला पासवान, भुवन केसी, सृष्टि अधिकारी, नवीन सिलवाल, दीपज्योति श्रेष्ठ, गणेश बुढाथोकी, कैलाश न्यौपाने, विश्वास बराल, आनन्द मिश्रलगायतको समूहले अपिल जारी गर्दै आवश्यक परे नेपाल सरकार देश छाडेर भागेका अफगानीलाई उनीहरूको धर्म र लिङ्गलाई बेवास्ता गर्दै शरण दिन तयार रहन र सार्कका अन्य मुलुकले पनि आपतकालीन उपाय खोज्दै अफगानीलाई सक्दो सहयोग गर्न आह्वान गरेको हो।

अफगानिस्तानमा विकसित राजनीतिक वातावरण देखेर आफूहरु विक्षिप्त बनेको भन्दै उनीहरुले मुस्लिम अतिवादी समूह ‘तालिबान’ले अफगानिस्तानको राज्यसत्ता कब्जा गरेपछि त्यहाँ रहेका पत्रकार, शिक्षासेवी, महिला, बालबालिका, मानव अधिकारकर्मी तथा खुला समाजमा विश्वास गर्ने समूह र व्यक्तिहरूले अहिले सबैभन्दा ठूलो मानवीय संकट तथा सुरक्षा चुनौती भोगेको जनाएका छन्। ‘अग्रगमन तथा खुला समाजमा विश्वास गर्ने अफगानी नागरिकलाई अहिले तपाईं–हामी सबैको नैतिक, आर्थिक, राजनीतिक, सामाजिक तथा सुरक्षात्मक सहयोग चाहिएको छ,’ अपिलमा भनिएको छ, ‘अफगानी सर्वसाधारणको सहयोग र सुरक्षाको चित्कारलाई विश्व समुदायले तिरष्कार गर्न मिल्दैन किनभने आतंकवादसँग यी नागरिकको कुनै सम्बन्ध छैन।’

प्रकाशित: ५ भाद्र २०७८ ०९:५२ शनिबार

सार्क भूमिकाहीन आपतकालीन