राजनीति

नेपालको नयाँ पार्टीको सनाखत हुन बित्तिकै एकैदिनमा मन्त्रिपरिषद् विस्तार हुन्छः प्रचण्ड

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माधवकुमार नेपालले गठन गरेको नयाँ पार्टीको सनाखत हुन बित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्।

बिहीबार समाजवादी केन्द्र, नेपालले आयोजना गरेको ‘एक्काइशौं शताब्दीको माक्र्सवाद र समाजवाद’ विषयक अन्तर्क्रियामा बोल्दै अध्यक्ष प्रचण्डले नेता माधवकुमार नेपालले दर्ता गरेको नयाँ पार्टीको सनाखत हुनासाथ एकैदिनमा मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन्। यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, नेता नेपाल र आफूबीच बिहीबार बिहानको भेटमा समझदारी बनिसकेको पनि उनले उल्लेख गरे।

‘नयाँ परिस्थिति बनेको छ। आज बिहान मात्रै प्रधानमन्त्रीजी, माधव नेपालजी र म बसेका पनि थियौँ। अब मन्त्रिपरिषद् विस्तार गर्न ढिलो गर्नु हुँदैन, तुरुन्तै टुंग्याउनुपर्छ भनेर,' उनले भने, 'बिहान सबै पार्टीका नेताहरुको के समझदारी बनेको छ भने यो दर्ता भएको पार्टीको सनाखत हुने बित्तिकै एकैदिनमा मन्त्रिपरिषद् टुंग्याइदिनुपर्छ भन्ने कुरा भएको छ। जति छिटो उहाँको सनाखत हुन्छ। त्यति छिटो मन्त्रिपरिषद् विस्तार हुन्छ।’

प्रकाशित: ३ भाद्र २०७८ ०९:१० बिहीबार

नेकपा(माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'