राजनीति

अस्थिर पद 'प्रदेश प्रमुख'

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले हरिशंकर मिश्रलाई प्रदेश २ को प्रमुखमा नियुक्त गरेकी छन्। मिश्र प्रदेश २ को चौथो प्रमुख बनेका छन्। संघीयताको आधारभूमि प्रदेश २ मा सत्ता समिकरण फेरबदलसँगै प्रदेश प्रमुख फेरिनु नौलो घटना भने होइन।  

गत फागुन ७ गते केपी शर्मा ओली नेतृत्वको सरकारले राजेश झा अहिराजलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो  ओलीको सत्ता फेरिएर नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले सत्ताको नेतृत्व सम्हालेसँगै झालाई हटाएर नेपाली कांग्रेसका पुराना नेता हिरशंकर मिश्रलाई नियुक्त गरेको छ।

२०७६ कात्तिक १७ गते तत्कालिन प्रदेश प्रमुख रत्नेशवरलाल कायस्थलाई हटाएर नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारले तिलक परियारलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो। नेकपाको विवाद उत्कर्षमा पुगेका बेला ओली सरकारले परियारलाई पदमुक्त गर्दै झालाई नियुक्त गरेको थियो। परियार माओवादी केन्द्रका नेता हुन्।

देश प्रादेशिक अभ्यासमा गएसँगै २०७४ माघ ३ गते शेरबहादुर देउवा नेतृत्वको सरकारले कायस्थलाई प्रदेश २ को पहिलो प्रमुख नियुक्त गरेको थियो। कायस्थ जनता समाजवादी पार्टी निकट हुन्।  

अघिल्ला दुई प्रदेश प्रमुख कायस्थ र परियारले प्रदेश सभाबाट पास हुने हरेकखाले विधेयक प्रमाणिकरण गरिदिएपनि प्रदेश प्रमुख झाले भने आफ्नो ६ महिने कार्यकालमा २ वटा विधेयक प्रमाणिकरण नगरी सुझावसहित फिर्ता पठाइदिए। स्वास्थ्य सेवा सम्बन्धी विधेयक र प्रदेश पदकसम्बन्धी बनेको विधेयक झाले फिर्ता पठाएका थिए। त्यसपछि प्रदेश सरकारसँग उनको दूरी बढेको थियो।  

पद्मुक्त भएपछि झाले पदीय हैसियतले प्राप्त हुने राज्यको कुनै सुविधा नलिने घोषणा गरेका छन्। नेपाल सरकारद्वारा प्राप्त निजी सुरक्षाकर्मी आजकै मितिबाट फिर्ता पठाउने घोषणा गर्दै पदमुक्त भएपश्चात् पदीय हैसियतले प्राप्त हुने राज्यको कुनै सुविधा नलिने उनले बताए। देशमा शान्ति सुरक्षाको अवस्था गम्भीर रहेको र मेरो निजी सुरक्षाभन्दा पनि जनताको सुरक्षा प्राथमिकतामा रहेकोले नेपाल सरकारद्वारा प्राप्त निजी सुरक्षाकर्मी आजकै मितिबाट फिर्ता पठाउने घोषणासमेत गर्दछु,’ झाले भने।

प्रकाशित: १ भाद्र २०७८ १३:१९ मंगलबार

प्रदेश प्रमुख अस्थिर पद