राजनीति

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा भारतको ७५औँ स्वतन्त्रता दिवसको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा आफ्ना समकक्षीहरूमा शुभकामना व्यक्त गरेका छन्।

राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपति रामनाथ कोविन्द तथा प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी नरेन्द्र मोदीलाई आज बेग्लाबेग्लै बधाई सन्देश पठाएर स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गरेका हुन्।

सन्देशमा राष्ट्रपति भण्डारीले भारतको सफल लोकतान्त्रिक यात्रा तथा स्वतन्त्रता प्राप्तिपछि उसले हासिल गरेको रुपान्तरणकारी आर्थिक विकासको विशिष्टता दर्शाउँदै नेपाल र भारतबीचको मैत्रीपूर्ण हार्दिक सम्बन्ध भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।  

यसैगरी, प्रधानमन्त्री देउवाले आफ्ना भारतीय समकक्षी मोदीलाई पठाएको सन्देशमा भारतका जनताको निरन्तर प्रगति, शान्ति र सुखको शुभकामना व्यक्त गरेका छन्।  

सार्वभौम समानता, पारस्परिक समझदारी र सहयोगमा आधारित नेपाल र भारतबीचको गाढा एवम् विविधतापूर्ण सम्बन्धलाई आपसी लाभका निम्ति भारतसँगको साझेदारीलाई अझ सबल तुल्याउने आफ्नो अभिलाषा प्रधानमन्त्री देउवाले अभिव्यक्त गरेका छन्।

प्रकाशित: ३१ श्रावण २०७८ १२:५३ आइतबार

भारतको ७५औँ स्वतन्त्रता दिवस