राजनीति

बहुल राष्ट्रिय राज्य स्थापनाका लागि संघर्ष गर्ने : महतो

जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएको महन्त ठाकुर पक्षका नेता राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्य’ स्थापनाका लागि संघर्ष गर्ने चेतावनी दिएका छन्।

शनिबार काठमाडौंमा आयोजित आफू पक्षीय बागमती प्रदेशका अगुवा कार्यकर्ताहरुको भेलामा बोल्दै नेता महतोले त्यसका लागि तयार रहन पहाड र हिमालका पार्टी नेता, कार्यकर्तालाई पनि आह्वान गरे। ‘बहुल राष्ट्रिय राज्य स्थापनाका लागि लडाई लडने हो। यो देशमा एउटै मात्र काम बाँकी छ, बहुल राष्ट्रिय राज्य स्थापना गर्ने। त्यसैका लागि हाम्रो पार्टीको जन्म भएको हो। त्यसका लागि तराई र मधेश तयार छ। पहाड र हिमालका जनतापनि तयार हुनुपर्यो।’ उनले भने।

कार्यक्रममा बोल्दै शिर्ष नेता महन्थ ठाकुरले सांसद रमेश चौधरीलगायतका मधेश आन्दोलनका क्रममा बन्दी बनेका, झूटा आरोप लागेका नेता, कार्यकर्ताहरुको तत्काल रिहाई नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए। उलने लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि सरकारसँग् माग गरे।

अर्का नेता सरदसिंह भण्डारीले वर्तमान सरकार आफूहरुको माग सम्बोधन गर्न गम्भीर नभएको आरोप लगाए। उनले मन्त्रिपरिषदलई पूर्णता दिन नसक्ने वर्तमान सरकारले आफूहरुको माग सम्बोधन गर्ला भन्ने आशा नगरेको पनि बताए। नेता भण्डारीले आफूहरुले राज्यसँग मधेश आन्दोलनको पीडाबाट आफ्ना पार्टीका नेता, कार्यकर्ताहरुलाई उन्मुक्ति दिन माग गरिरहेको स्पष्ट पारे।

उनले मधेश आन्दोलनका क्रममा लगाइएको झुटा मुद्धा फिर्ता लिने, बन्दी जीवन बिताईरहेका नेता, कार्यकर्ताहरुको तत्काल रिहाई गर्न पनि सरकारसँग आग्रह गरे। 

प्रकाशित: ३० श्रावण २०७८ १४:०९ शनिबार

जनता समाजवादी पार्टी महन्त ठाकुर