राजनीति

प्रधानमन्त्रीले पारसलाई भनेः सरकारको साथ र सहयोग सधैं रहने छ

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई सरकारको तर्फबाट सधैं सहयोग हुने बताएका छन्। शनिबार फेसबुकमार्फत उनीसँगको फोटो साझा गर्दै विगतमा पारसले क्रिकेटमा दिएको योगदानको प्रशंसासँगै धन्यवाद दिएका छन्।

'दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारस खड्कालाई धन्यवाद', भन्दै उनले लेखेका छन्, 'नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्। सरकारको साथ र सहयोग सधैं रहने छ।'

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले साउन १९ गते आफ्नो दुई दशक लामो अन्तर्राष्ट्रिय खेल जीवन टुङ्ग्याउने घोषणा गरेका थिए। बाह्र वर्ष राष्ट्रिय क्रिकेट टोलीको नेतृत्व गरेका खड्कालाई नेपालको सबैभन्दा सफल कप्तान मानिन्छ।

प्रकाशित: ३० श्रावण २०७८ ०८:५० शनिबार

प्रधानमन्त्री शेरबहादुर देउवा पूर्व कप्तान पारस खड्का