राजनीति

लुम्बिनी प्रदेश: गठबन्धनलाई सघाएको भन्दै एमालेद्वारा मन्त्री शाही र सांसद खत्रीलाई कारबाहीको धम्की

लुम्बिनी प्रदेशमा झिनो मतका कारण सत्ताच्युत हुनु परेको पिडाबाट गुर्जीएको एमालेले चार दलिय गठबन्धनलाइ सघाएको भन्दै दई जना सांसदलाई कारबाहीको प्रक्रिया सुरु गरेको छ। प्रदेश सरकारका मन्त्री अजय शाही र माओवादी केन्द्रका सांसद बिमला खत्रीलाई कारबाहीकालागि प्रक्रिया अगाडी बढाएको हो।  

मन्त्री शाहीलाई एमालेले बिहीबार साँझ स्पष्टीकरण पत्र पठाएको हो। मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको सरकारमा सहभागी भएको भन्दै एमालेले मन्त्री शाहीलाई स्पष्टीकरण सोधेको हो। शाही सुर्य चिन्हबाट स्वतन्त्र निर्वाचित प्रदेश सांसद हुन्।

ह्रदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहबाट उनी बिहीबार केसी नेतृत्वको सरकारमा बिना बिभागीय मन्त्री नियूक्त भएका हुन्। एमालेले गत असार ३० मा बजेट पारित गर्ने दिन प्रदेश सभामा अनुपस्थित भई पार्टीको ह्वीप उल्लंघन गरेको, साउन २७ को विशेष अधिवेशन बहिस्कार गर्ने पार्टी निर्णय विपरीत बैठकमा उपस्थित भएको, र अविश्वसाको प्रस्तवामा हस्ताक्षर गरेको भन्दै स्पष्टीकरण सोधीएको छ। तीन दिन भित्र आफैं उपस्थित भइ स्पष्टीकरण दिन भनीएको छ।

तीन दिन भित्र चित्त बुझदो जवाफ नआए कारबाही प्रकृया अगाडी बढाइने एमाले संसदिय दलका प्रमुख सचेतक भुमिश्वर ढकालद्वारा जारी पत्रमा उल्लेख छ। निर्वाचन जितेपछि एमालेकै पार्टी सदस्यकोरुपमा शाही संसदिय दलको बैठक र गतीविधिहरुमा संलग्न भएको भन्दै एमालेले उनलाई स्पष्टीकरण सोधेको छ।

मन्त्री शाहीले आफू स्वतन्त्र सांसद भएकाले स्पष्टीकरणको कुनै अर्थ नरहेको बताएका छन्। ‘एमालेले मलाइ कारबाही गर्ने आधारै छैन किनकी म स्वतन्त्र सांसद हुँ,यदी गर्यो भने अदालत जान्छु’ शाहीले भने। कानुन बिदहरुसंग रायसुझाव लिएरै आफू अगाडी बढेको शाहीले बताए। शाही पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं. १ (ख) बाट निर्वाचित सांसद हुन्।  

बिमलालाइ कारबाहीको तयारी

नेकपाबाट उपनिर्वाचन जितेर नेकपा माओवादी केन्द्र रोजेकी सांसद बिमला खत्रीलाइ पनि एमालेले कारबाही प्रकृया अगाडी बढाउने तयारी गरेको छ। खत्रीलाइ यसअघि नै पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै स्पष्टीकरण सोधेपनि चित्त बुझदो जवाफ नआएकाले कारबाही प्रक्रिया नै अघि बढाइने एमाले सचेतक ढकालले बताए।  

बिमलाले २०७६ को मंसिर १४ मा सम्पन्न उपनिर्वाचनमा नेकपाबाट दाङ निर्वाचन क्षेत्र नं. ३ (ख) बाट चुनाव जितेकी हुन्। सर्वोच्चको फागुन २३ को  फैसाला पछि उनले दल रोज्न पाउने अधिकारको प्रयोग गर्दै नेकपा माओवादी केन्द्र रोजीन्। गत वैैशाख १७ मा उनले नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश सभा दल सदस्यता प्राप्त गरेकी हुन्।

माओवादी केन्द्र रोजेको जानकारी प्रदेश सभा सचिवालयलाई पनि लिखित रुपमै गराएकी हुन्।  वैशाख १९ गते बुटवलमा पत्रकार सम्मेलन गरेर उनले सो जानकारी गराएकी थिइन्। त्यसयता उनी संदनदेखि सडकसम्मका कार्यक्रममा माओवादी केन्द्र सगै छिन्। प्रदेश सभा सचिवालयमा उनको विवरणमा दल माओवादी केन्द्र उल्लेख छ।

खत्रीले माओवादी केन्द्र रोजेपछि एमाले संसदिय दलका नेता तथा निर्बतमान मुख्यमन्त्री शंकर पोखरेलले उनलाई एमालेमा फर्कन निरन्तर दवाव दिए। फर्कन नमानेपछि साउन १५ गते अपहरण शैलीमा एमाले सचेतक ढकालले बिमलालाइ दाङबाट बुटवल ल्याए।  पाँच दिन सम्म उनलाइ मुख्यमन्त्री निवासमा राखीएको थियो। मुख्यमन्त्री निवाशमा बन्धक बनाइ एमालेमा फर्कन निरन्तर दवाव दिएपछि पाँचौ दिनमा त्यहाँबाट भागेर उम्कन सफल भएको खत्रीले पत्रकार सम्मलेन नै गरेर बताएकी हुन्।  

मुख्यमन्त्री निवासमा बन्धक बनाइ एमाले संसदिय दल र पार्टीका बैठकका पुराना माइन्युटमा जबरजस्ती हस्ताक्षर गर्न लगाएको पनि उनले बताएकी थिइन्। त्यती गर्दा पनि दवाव,प्रभाव र प्रलोभनमा पार्न नसकेपछि पोखरेलले केन्द्रिय अध्यक्ष ओलीमार्फत नै स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अगाडी बढाउने धम्की यसअघि नै दिएको बिमलाले बताईन्।  गत वैशाखमै माओवादी केन्द्र संसदिय दलको सदस्यता लिएको र त्यसबारे प्रदेश सभालाइ जानकारी गराएकाले कसैको धम्कीले नडराउने बिमलाले बताएकी छन्।

प्रकाशित: २९ श्रावण २०७८ ११:४८ शुक्रबार

लुम्बिनी प्रदेश मन्त्री शाही सांसद खत्री