राजनीति

ओलीलाई थापाको जवाफः तीन वर्ष सरकार चलाउँदा प्रतिपक्षसँग कुनै संवाद गरिएन

नेपाली कांग्रेसका गगनकुमार थापाले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले केही दिन अघि सदनमा दिएको वक्तव्यको आलोचना गर्दै उनले तीन वर्ष सरकार चलाउँदा प्रतिपक्षसँग कुनै संवाद नगरिएको स्मरण गराए।  

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले नयाँ सरकारलाई बोलीभन्दा काममा उत्रन आग्रह गर्दै एक महिनासम्म मन्त्रिपरिषद्लाई पूर्णता नदिएकामा चिन्ता व्यक्त गरे। उनले अर्थमन्त्रीले श्वेतपत्र सार्वजनिक गरिसकेकाले अब सङ्कल्पपत्र आवश्यक भएकामा जोड दिए।

सोही पार्टीका देवेन्द्रराज कँडेलले सीमा क्षेत्रमा भएका चोरी तस्कारी रोक्न कुनै प्रभावकारी कदम नचालिएको बताए। नेकपा (माओवादी केन्द्र) का मातृकाप्रसाद यादवले प्रतिनिधिसभा जनादेशबाट सिर्जित भएकाले अहिलेको सरकारलाई परमादेशबाट बनेको भन्ने आरोप पटक पटक नलगाउन आग्रह गरे।  

जनता समाजवादी पार्टीका सूर्यनारायण यादवले अघिल्लो सरकारले आर्थिक स्थितिको विश्लेषण नगरी अध्यादेशबाट बजेट ल्याएको टिप्पणी गरे। नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले माओवादी शिविर व्यवस्थानका क्रममा भएका खर्चको छानबिन गर्न माग गरे। सांसद् सुरेशकुमार राईले भारतसँगका असमान सन्धी सम्झौता पुनरावलोकन गर्न माग गरे। सांसद् रेणुका राईले भुपु ब्रिटिश गोर्खाली सेनालाई बेलायती सरकारले गरेको विभेदपूर्ण व्यवहार सच्याउनुपर्ने बताइन्।

बैठकमा प्रतिनिधिसभाका सचिव गोपीनाथ मैनालीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘स्टाण्डर्स नाप र तौल (पाँचौ संशोधन) विधेयक, २०७६’ सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबल गरे।

प्रतिनिधिसभाको अर्को बैठक यही साउन २९ गते दिउँसो १ बजे बस्नेछ।

प्रकाशित: २८ श्रावण २०७८ १२:२४ बिहीबार