राजनीति

नेतात्रयलाई सुझाव : अब पार्टीको जिम्मेवारीबाट हट्नुस्

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई अब पार्टी सञ्चालनको जिम्मेवारी अन्यलाई दिएर सरकार सञ्चालनमा जुट्न सुझाएका छन्। देउवा निवासमा बुधबार बसेको पदाधिकारी बैठकमा उपसभापति विमलेन्द्र निधिले १३औं महाधिवेशनमा सभापतिको प्रत्यासी बनेका नेता पौडेल, सिटौला र देउवा (सभापतिमा निर्वाचित) लाई यस्तो सुझाव दिएका हुन्।

संवैधानिक समयसीमाभित्र पार्टीको १४औं महाधिवेशन गर्न असम्भव भएपछि विकल्प खोज्न बसेको पदाधिकारी बैठकमा निधिले तीनैजना नेतालाई आगामी महाधिवेशनमा सभापतिको प्रत्यासी नबन्न सुझाएको उद्धृत गर्दै स्रोतले भन्यो, ‘म सभापतिको उम्मेदवार छँदैछु। तीनजना नेताहरूलाई मेरो आग्रह छ– तपाईंहरू अब सरकार सञ्चालनमा लाग्नुहोस् । मसमेत सभापतिका अन्य आकांक्षी मिलेर अब पार्टी चलाउँछौं।’

सभापति देउवा अहिले प्रधानमन्त्री पनि छन्। निधिले अब पौडेल र सिटौलालाई पनि सरकार सञ्चालनमा केही जिम्मेवारी दिएर सरकार सफल पार्नेतर्फ तीनैजना नेता लाग्नुपर्ने बताएका थिए। निधिले १४औं महाधिवेशनमा सभापतिका आकांक्षी आफू, शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइरालालगायत मिलेर पार्टी सञ्चालन गर्ने प्रस्ताव गरेका थिए । त्यसअघि बसेको देउवा निकट नेताहरूको बैठकमा पनि निधिले पार्टी सञ्चालनको जिम्मेवारी आफूलाई दिन आग्रह गरेका थिए।

‘म अहिले उपसभापति भएकाले पार्टी सञ्चालनको जिम्मेवारी मलाई दिनुहोस्, तपाईं सरकार सञ्चालनमा केन्द्रित हुनुहोस्,’निधिले देउवालाई भनेको उद्धृत गर्दै स्रोतले बतायो। निधिले आफूलाई कार्यवाहक सभापति नदिने भए अरु जसलाई  विश्वास लाग्छ उसैलाई दिन पनि  आग्रह गरेको सहभागी एक नेताले  जानकारी दिए। निधिले यस्तो प्रस्ताव राखेपछि त्यसमा बल पुग्नेगरी पूर्वउपसभापति गोपालमान श्रेष्ठले दुईतिहाइ जनमतसहित सरकारको नेतृत्वमा पुगेका केपी ओली सरकार र पार्टी दुवै आफ्नो हातमा राख्छुभन्दा असफल भएको बताएका थिए। उनले पनि देउवालाई आफ्नो विश्वासपात्रलाई पार्टीको जिम्मेवारी दिन आग्रह गरेका थिए ।

जुटेन सहमति

नेपाली कांग्रेसका शीर्ष नेताहरू पार्टीको १४औं महाधिवेशनको नयाँ कार्यतालिका, क्रियाशील सदस्यता र संगठन समायोजनका विषयमा सहमति जुटाउन असफल भएका छन्  सभापति देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारीको बैठकले सदस्यतासहितका विषयमा कुनै सहमति जुटाउन नसकेको हो। भदौ १६ देखि हुने भनिएको १४औं महाधिवेशन अब सम्भव छैन भन्नेमा शीर्ष नेताहरू सहमत देखिए पनि अब कहिले गर्ने भन्ने टुंगो लाग्न भने सकेको छैन।

महाधिवेशनको नयाँ कार्यतालिकासहितका विषयमा छलफल गर्न बिहीबार केन्द्रीय समितिको बैठक बोलाएको कांग्रेसले बुधबार क्रियाशील सदस्यता, संगठन समायोजन, निर्वाचन निर्देशिकासहितका विषयमा सहमति खोज्न पदाधिकारी बैठक राखेको थियो। तर, शीर्ष नेताहरूको बैठकमा नेता पौडेलसहित संस्थापन इतर पक्षले विधि र विधानविपरीत क्रियाशील सदस्यता वितरण गरिएको भन्दै छानबिन समितिले टुंगो लगाएका विषय पनि फेरि हेर्नुपर्ने प्रस्ताव गरेका छन्। त्यस्तै संगठन समायोजनका विषयमा पनि पौडेल पक्षले प्रश्न उठाएको छन्। पौडेलले संगठन समायोजनदेखि क्रियाशील सदस्यताका विषयमा १५बुँदे धारणा राखेका थिए।

तर, संस्थापन पक्षले पौडेलसहित इतर पक्षको प्रस्तावलाई अस्विकार गरेको छ । संगठन समायोजन समितिका संयोजक तथा उपसभापति निधिले सर्वसहमतिले टुंगो लगाएका विषय फेरि खोल्न नहुने धारणा राखेका थिए। समितिले बिहीबार केन्द्रीय समितिको बैठकमा प्रतिवेदन पेस गर्ने नेताहरूलाई जानकारी गराएका थिए।

त्यस्तै, क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले टुंगो लगाएको विषय फेरि खोतल्दै जाँदा कहिल्यै समाधानमा नपुगिने भन्दै विवादित ठाउँको मात्र सदस्यता हेरेर महाधिवेशन गर्नुपर्ने तर्क गरेका थिए । बारा र सप्तरीको सदस्यता खोल्न समितिका सदस्य प्रदीप पौडेल र जीवन परियार तयार नभएको जानकारी उनले गराएका थिए।

केन्द्रीय समितिको बैठकअघि बिहीबार बिहान ११ बजे पुनः शीर्ष नेताहरू छलफलमा जुट्ने बताउँदै नेता पौडेलले भने, ‘केही विषयमा टुंगो लागेको छैन । भोलि फेरि बस्ने कुरा भएको छ।’ क्रियाशील सदस्यता विवाद छानबिन पारदर्शी हुनुपर्ने उनले बताए। ‘पहिला सदस्यता  विवाद टुंगो लगाउनुपर्‍यो अनि महाधिवेशनको कार्यतालिका विषयमा छलफल गर्न सकिन्छ,’ उनले भने, ‘अहिले पनि भदौमा महाधिवेशन गर्न चाहे गर्न सकिन्छ।’

दसैंअघि महाधिवेशन

सभापति देउवाले आफू निकटहरूको भेलामा दसैंअघि १४औं महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव गरेका छन्। आफू निकट नेताहरूको भेलामा देउवाले बिहीबार सुरु हुने केन्द्रीय समितिको बैठकबाट भदौ १६ देखि अधिवेशन सुरु गर्ने र दसैंअघि महाधिवेशन सकाउने कार्यतालिका ल्याउने बताएका हुन्।

भदौ १६ बाट स्थानीय अधिवेशन सुरु गरेर लामो त्यसलाई लम्ब्याउने तयारीमा सभापति देउवा र संस्थापन पक्ष रहेको आरोप इतर पक्षले लगाउँदै आएको छ। तर, देउवाले अधिवेशन प्रक्रिया सुरु भएपछि नरोकिने बताएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए। ती सदस्यले देउवालाई उद्धृत गर्दै भने, ‘भदौ १६ गतेबाट वडा अधिवेशन जसरी पनि सुरु गर्नुपर्छ । त्यसपछि सबै तहको अधिवेशन निरन्तर गरेर दसैंअघि महाधिवेशन सम्पन्न गर्नुपर्छ । त्यहीअनुसार लाग्नुहोला।’

निकटहरूले जिल्ला, प्रदेशसहितका अधिवेशन महाधिवेशनपछि गर्न सुझाए पनि देउवाले त्यसलाई अस्विकार गरेका छन्। देउवाले पौडेलसहितका नेताहरूसँगको परामर्शमा संशोधित कार्यतालिका निर्माण गरेर बैठकमा पेस गर्ने निकटहरूलाई बताएका थिए। उनले संगठन समायोजन समितिका संयोजक, क्रियाशील सदस्यता छानबिन समितिका संयोजकसहित बस्ने पदाधिकारी बैठकले सदस्यता विवादसहितका विषयलाई टुंगोमा पुर्‍याउने निकटहरूलाई जानकारी गराएका थिए। क्रियाशील सदस्यता छानबिनको धेरै काम सकिएको र केही ठाउँमा विवाद रहेको भन्दै त्यसलाई पनि समाधान गरेर जान सकिने धारणा उनले राखेका थिए। कहीं कतै सदस्यता विवाद टुंगो लाग्न नसके ती ठाउँमा १३औं महाधिवेशनको क्रियाशील सदस्यतालाई नै आधार बनाएर अघि बढ्ने संस्थापन पक्षको तयारी छ । त्यस्तै, वडा तहमै जातीय आधारमा अधिवेशनमा प्रतिनिधित्व  चयन गर्नुपर्ने विधानको व्यवस्थालाई निर्वाचन निर्देशिकामा बुथ समितिलाई आधार बनाएर अघि बढ्ने संस्थापन पक्षको तयारी छ ।

देउवा निकटहरूको भेलामा सहभागीले नेता पौडेलको भूमिकाप्रति असन्तुष्टि जनाउँदै कोरोना भाइरसको बढ्दो संक्रमणका बेला महाधिवेशन गर्न सम्भव नभएको दाबी गरेका थिए। महामन्त्री कोइराला र नेता सिटौला समय लिएर मंसिरमा महाधिवेशन गर्न तयार भए पनि पौडेलले अड्को थापेको आरोप छ।

देउवा निकटबीचमै विवाद

पार्टी सभापति एवं प्रधानमन्त्री देउवाको प्रशंसा गर्दै बनाइएको भिडियोलाई लिएर महामन्त्री पूर्णबहादुर खड्का र सहमहामन्त्री प्रकाशशरण महतबीच विवाद भएको छ। केही दिनअघि ‘मलाई देउवा मनपर्छ किनभने’ भन्ने भिडियो प्रचारमा ल्याइएको विषयमा महामन्त्री खड्काले सामाजिक सञ्जालमा गरेको टिप्पणीप्रति महतले असन्तुष्टि जनाएका थिए। पार्टीका जिम्मेवार नेताले बैठकमा कुरा राख्न छाडेर सामाजिक सञ्जालमा लेखेको भन्दै महतले भने, ‘प्रधानमन्त्रीबारे गलत सन्देश जाने गरी ट्विट गर्ने कुरा राम्रो भएन । यो गलत काम भयो ।’ जवाफमा खड्काले आफूले त्यस विषयमा जानकारी गराएको तर नसच्चिएपछि सामाजिक सञ्जालमा लेखेको बताएका थिए। ‘हामीले प्रधानमन्त्रीको विरोध गरेका होइनौं। सचिवालयले जुन भिडियो  सार्वजनिक गरिरहेको छ, त्यसले प्रधानमन्त्रीबारे गलत सन्देश दिएको छ।  

त्यो तत्काल रोक्नुपर्छ,’खड्काले बैठकमा भने,‘म प्रधानमन्त्रीकै अगाडि भन्छु, भिडियोले प्रधानमन्त्रीकै आलोचनाबढाउने काम गरेको छ।’ देउवाले यस विषयमा आफू जानकार नभएको भन्दै त्यस्तो भिडियो कसले बनाएको हो पत्ता लगाउन स्वकीय सचिव भानु देउवालाई आग्रह गरेका थिए। देउवाले भानुप्रति पनि असन्तुष्टि जनाएको बैठकमा सहभागी एक नेताले जानकारी दिँदै भने, ‘चाकरी गर्न सुरु गरिएको त्यो काम अब रोकिएको छ।’

प्रकाशित: २८ श्रावण २०७८ ०१:१३ बिहीबार

नेपाली कांग्रेस उपसभापति विमलेन्द्र निधि कांग्रेस नेता रामचन्द्र पौडेल सभापति शेरबहादुर देउवा