राजनीति

संविधान त्रुटिपूर्ण छ अब सच्याउने काम काँग्रेसको: गच्छदार

सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति बिजयकुमार गच्छदारले संविधान त्रुटिपूर्ण रहेको दावी गर्दै त्यसलाई सच्याउने कामको नेतृत्व काँग्रेस आफैंले गर्नुपर्ने बताएका छन्।  

पूर्वउपप्रधानमन्त्री समेत रहेका गच्छदारले आफ्नो ५० वर्षे राजनीतिक इतिहासनै समाप्त पार्ने गरी ललिता निवास प्रकरणको नाममा अख्तियार दुरुपयोग अनुसन्धानले आफूमाथि दुश्मनी साँध्ने काम गर्नु अन्तत संविधानमा त्रुटी हुनु रहेको उल्लेख गर्दै त्यसलाई सच्याउने कामको नेतृत्व काँग्रेस आफैले गर्नुपर्ने तर्क गरेका हुन्।  

बुधबार विश्व आदिवासी दिवसको अवसर पारेर पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याउने आफूमाथि संविधानकै आडमा दुश्मनी साँध्ने काम तत्कालीन राज्यले गरेको भन्दै आक्रोश व्यक्त गरे।  

उपसभापति गच्छदारले भने, ‘तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले जग्गाको लालपूर्जा बाँडछ? मोहीको जग्गा छुटाउने दायित्व मेरो थियो ? त्यो दायित्व भूमि सम्बन्धि मन्त्रालयको होइन र? तर राज्यले मलाई तह लगाउने नाममा ललिता निवास जग्गा प्रकरणमा फसायो। मलाई थाहा पनि थिएन् सो विषयमा।

तर मलाई तह लगाउने नाममा अख्तियार लगाईयो। मेरो राजनीतिक जीवनलाई समाप्त पार्न खोजियो। यी सब काम संविधान, कानुनको आडमै गरिएको हुनाले यसमा रहेको त्रुटि सच्याउने काम नेपाली काँग्रेसले गर्नु पर्छ । आदिवासी, जनजातिको छोरालाई फसाउने संविधानका ती प्रावधान हटाउनु पर्छ।’ उपसभापति गच्छदारले आफूले वर्तमान संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको कुरा पटकपटक दोहोर्‍याएका थिए।

प्रकाशित: २७ श्रावण २०७८ ०७:४७ बुधबार

नेपाली कांग्रेस बिजयकुमार गच्छदार