राजनीति

तोकिएकै मितिमा महाधिवेशन गर्न पौडेल पक्ष जिल्ला सभापतिको माग

नेपाली कांग्रेसका पौडेल पक्ष जिल्ला सभापतिहरुले तोकिएको मितिमा महाधिवेशन गर्न माग गरेका छन्।

काठमाडौँमा सोमबार र मंगलबार भएको भेलामा सहभागी जिल्ला सभापतिहरुले तोकिएको भदौ १७, १८ र १९ गते तोकिएको महाधिवेशन जसरि पनि सम्पन्न गर्नुपर्ने माग राखेका हुन्। भेलाले क्रियाशील सदस्यहरुको छनौट सम्बन्धि विवाद तुरुन्त समाधान गर्न पनि पार्टी नेतृत्वलाई आग्रह गरेको छ।  

तत्काल विवाद समाधान नहुने भए विवाद रहेका स्थानमा १३औं महाधिवेशनको क्रियाशील सदस्यलाई आधार मानेर बिबादको निकाश दिन पनि सभापतिहरुको भेलाले पार्टी नेतृत्वलाई आग्रह गरेको छ। पार्टीको वैधानिकता बचाउन जुन छिटो बिधि हुन्छ त्यो बिधि अपनाएर महाधिवेशन गर्न भेलामा सहभागीहरुले सुझाव दिएको नेपाली कांग्रेस नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसिले जानकारी दिए।  

काठमाडौँको एक होटलमा २ दिनसम्म चलेको भेलामा ५६ जिल्लाका सभापतिहरु सहभागी भएको नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्यले जानकारी दिए।  

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन नगर्न कानुनी परामर्श गरेको, क्रियाशील सदस्य विवाद समाधान नगरेको साथै निर्वाचन आयोगमा आफ्नो प्रभाव देखाएर पर धकेल्ने प्रयास गरेको निष्कर्ष भेलाले निकालेको काभ्रे जिल्ला सभापति आचार्यले बताए।  

पार्टीको बिधानभन्दा माथि देशको संविधान रहेकोले संविधान विपरित हुने काम नगर्न पार्टी सभापति देउवालाई सचेत गराउने निष्कर्ष भेलाले निकालेको सभापति आचार्यले बताए।  भेलामा सहभागीहरुलाई सम्बोधन गर्न नेपाली कांग्रेसका नेता राम चन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु प्रकाशमान सिंह, रामशरण महत, सुजाता कोइराला, शेखर कोइराला होटल पुगेका थिए।

प्रकाशित: २६ श्रावण २०७८ १५:१२ मंगलबार

नेपाली कांग्रेस