नेकपा (एमाले) का अध्यक्ष तथा प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले जनताको भावनाअनुसार काम गरोस् भन्ने आफ्नो सदिच्छा रहेको बताएका छन्। अघिल्लो सरकारले अघि बढाएका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उनले खराब नियत राखेर कतिपय कार्यक्रम अघि बढाउन नचाहेपछि बाध्यताले केही कार्यक्रमलाई निरन्तरता दिन आनाकानी गरिएको गुनासो गरे।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय मागेर बोल्दै अध्यक्ष ओलीले नीति, कार्ययोजना, लक्ष्य र त्यहीअनुसारकै व्यवहार र प्रयास आफ्नो नेतृत्वको सरकारले गरेको जिकिर गरे।
उनले समृद्ध नेपालको राष्ट्रिय आकांक्षा प्राप्त गर्न आफ्नो पार्टीले उदार र फराकिलो भावनाका साथ चुनावी तालमेल र पार्टी एकीकरण गरेको जानकारी दिए। उनले विगतमा प्रतिपक्षसँग पनि संवाद सहमतिको सम्मानपूर्ण अभ्यास गरिएको जिकिर गरे। त्यो बेला सहकार्य गरेर अघि बढ्ने नीति पनि लिइएको उनले जानकारी गराए।
विगतमा गलत कुरासँग कुनै सम्झौता नगर्दा कतिपयको अपेक्षा पूरा नभएको तथा ‘म भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि भ्रष्टाचार गर्न दिन्नँ’ भन्दा कतिलाई धक्का पुगेको र त्यही कारण आफ्नै पार्टीभित्र पनि धक्का पुगेको उनले बताए।
यसैगरि, संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रमको सन्दर्भमा अध्यक्ष ओलीले संसद् छलेर उक्त कार्यक्रम किन आयो भनी प्रश्न गरे। अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) को बारेमा नेपाली जनताले जान्न चाहेको उल्लेख गर्दै अध्यक्ष ओलीले भने, “प्रधानमन्त्रीज्यू एमससिसीको बारेमा के गर्नुहुन्छ? लिम्पियाधुरा, लिपुलेक, कालापानी वार्ताद्वारा फिर्ता ल्याउँछु भनेर किन भन्न सक्नुभएन?” अध्यक्ष ओलीले द्वन्द्व पीडितलाई न्याय दिन पनि आग्रह गरे।
प्रकाशित: २६ श्रावण २०७८ १२:१६ मंगलबार