राजनीति

'ओली फोबिया'का कारण सरकार विस्तार हुन सकेन: खिमलाल भट्टराई

राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली फोबियाका कारण वर्तमान सरकार विस्तार हुन नसकेको टिप्पणी गरेका छन्।

मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य भट्टराईले पूर्वप्रधानमन्त्री ओली सिंहदरबार छोडेर बालकोट गएपनि नेपाली राजनीति उनकै वरिपरी घुमेको दाबी गर्दै सो कुरा बताएका हुन्।  

सदनमा पनि ओलीकै चर्चा हुने गरेको उल्लेख गर्दै उनले वर्तमान सरकार विस्तार हुन नसक्नुमा केपी ओलीकै फोबिया भएको बताए।

‘केपी ओली सिंहदरबार छोडेर, बालुवाटार छोडेर उहाँ बालकोट जानुभाको छ। तरपनि राजनीति चाहीँ उहाँकै वरिपरि घुमेजस्तो चाहीँ हामी देख्छौँ,' उनले भने, 'सदनमा आउँदा पनि उहाँकै चर्चा हुन्छ। सदनमा आउँदाखेरी कतिपय सत्तापक्षका माननीयहरुले उहाँको विरोधमा चर्चा गरिराख्नुभएको हुन्छ। आज सरकार बनिराखेको छैन। मलाई के लाग्छ भने यो सरकार नबन्नुको पछाडी पनि केपी ओलीकै फोबिया छ की भन्ने मलाई लाग्छ।’

उनले गणतन्त्रको सम्बन्धमा केपी ओलीको निष्ठामाथि प्रहार गर्ने काम भएको बताए। राजतन्त्रको उन्मुलन, सामन्तवादको उन्मुलन, साम्राज्यवादी शोषणबाट देशलाई मुक्त गर्न र दलाल पुँजिवादबाट देशलाई मुक्त गर्न केपी ओली १४ वर्ष जेल बसेको र आफ्नो जीवन सामाजिक रुपान्तरण र राजनीतिक परिवर्तनका लागि व्यतित गरेको भन्दै ओलीको निष्ठामाथि प्रश्न नगर्न उनले आग्रह गरे। ओली गणतन्त्रको नेता भएको उनले बताए।

प्रकाशित: २६ श्रावण २०७८ १०:२२ मंगलबार

ओली फोबिया सरकार विस्तार राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराई नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली