राजनीति

काँग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरुको भेला काठमाडौंमा सुरु

नेपाली काँग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरुको भेला काठमाडौंमा सुरु भएको छ। पार्टीको महाधिवेशन र मन्त्रिपरिषद विस्तारको कामले गति लिन नसकेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न पार्टीका संस्थापन पक्ष इतर जिल्ला सभापतिहरुको भेला सुरु भएको हो। 

सोमबार काठमाडौंको ठमेलस्थित एक होटलमा जारी भेलामा ३५ जना भौतिकरुपमा र ११ जना भर्चुअल गरी ४७ जना जिल्ला सभापतिहरु सहभागी भएको भेलामा सहभागी नेपाली काँग्रेस जिल्ला कार्य समितिका सभापति सबुज बानियाँले जानकारी दिए।  

उनले भने, ‘महाधिवेशनको सन्दर्भ पनि आएको छ। सरकार पनि पार्टीले चलाउन पाएको छ। यी दुईटै कुरामा केन्द्रित भएर छलफल गरिनेछ। सरकारलाई गतिशील बनाई जनताले चाहे अनुसारको काम गर्न लगाएर सफल बनाउने र पार्टीलाई गतिशील बनाउने गरी समक्ष नेतृत्व चयन हुने गरी पार्टीको क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गर्ने बारे बैठकले आवश्यक निर्णय लिनेछ।’

२ दिनसम्म चल्ने भेलाले लिएको निष्कर्ष पार्टीका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरुलाई बुझाउने तयारी गरिएको छ। काँग्रेसको आसन्न १४ औं महाधिवेशनको मिति सर्ने अवस्था भएपछि समयमै महाधिवेशन सम्पन्न गर्न नसकेको भन्दै सभापति देउवाविरुद्ध वरिष्ठ नेता पौडेल पक्ष आक्रोशित भएको छ। त्यसैगरी सरकारलाई पूर्णता दिने विषयमा पनि प्रधानमन्त्री देउवाले आवश्यक छलफल नगरेको पौडेल पक्षको आरोप छ।

प्रकाशित: २५ श्रावण २०७८ ०८:४४ सोमबार

नेपाली कांग्रेस जिल्ला सभापतिहरुको भेला