राजनीति

ओलीद्वारा स्कुल विभागको नेतृत्व, एमालेमा ९ विभाग गठन

विधान अधिवेशनको तयारीमा जुटेको नेकपा एमालेले नौ वटा विभागहरु गठन गरेको छ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा सोमबार बसेको पार्टी स्थायी समिति बैठकले पार्टीका विभिन्न नौ वटा विभागहरु गठन गरेको हो। पछि पनि सदस्यहरु थप गर्न मिल्ने गरी गठन गरिएको विभागहरुमध्ये स्कुल विभाग प्रमुखको जिम्मेवारी अध्यक्ष केपी शर्मा ओली आफैले राखेको प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए।  

संगठन विभाग प्रमुखमा विष्णुप्रसाद पौडेल, संसदीय विभाग प्रमुखमा सुवास नेम्वाङ, प्रचार विभाग प्रमुखमा प्रदिप ज्ञवाली, विदेश विभाग प्रमुखका डा. राजन भट्टराई, निर्वाचन विभाग प्रमुखमा अग्नी खरेललाई मनोनित गरिएको छ। 

प्रवक्ता ज्ञवालीले पर्यटन प्रवर्द्धन विभाग प्रमुखमा भानुभक्त ढकाल, आर्थिक विभाग प्रमुखमा विष्णु रिमाल, स्थानीय तह विभाग प्रमुखमा देवेन्द्र दाहाललाई मनोनित गरिएको बताए। विभागलाई पूर्णता दिन सदस्यहरुको मनोनित गर्ने काम भने बाँकी रहेको एमालेले जनाएको छ।

एमालेले आगामी साउन २४ गते केन्द्रिय समिति बैठक बोलाएको छ। पार्टीको आगामी भदौ २७ र २८ गते आयोजना हुने विधान अधिवेशनामा प्रस्तुत हुने प्रस्तावबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरिएको प्रवक्ता ज्ञवालीले जानकारी दिए। त्यसको २ दिन अघि साउन २२ गते पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा केन्द्रित रहेर अनौपचारिक छलफल गर्ने पनि निर्णय पनि एमालेले गरेको छ।

एमालेले पार्टीको नीति निर्माणका लागि विधान अधिवेशन बोलाउन लागिएको पनि स्पष्ट पारेको छ। प्रवक्ता ज्ञवालीका अनुसार त्यसपछि आयोजना हुने राष्ट्रिय अधिवेशनले पार्टीको नेतृत्व चयन गर्ने छ। एमालेले पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि आगामी असोज ३ गते वडा अधिवेशन र असोज ९ गते पालिकास्तरीय अधिवेशन गर्ने निर्णय पनि यसअघिनै गरिसकेको छ।

प्रकाशित: १८ श्रावण २०७८ १३:५० सोमबार

विधान अधिवेशन नेकपा एमाले नौ वटा विभागहरु गठन