राजनीति

सरकारले दमनको बाटो लिएको दावी गर्दै प्रतिवाद गर्ने ओलीको चेतावनी

प्रमुख प्रतिपक्ष दल नेकपा ऐमालका अध्यक्ष केपी शर्मा ओलीले सरकारले दमनको बाटो लिएको दावी गर्दै प्रतिवाद गर्ने चेतावनी दिएका छन्।

अध्यक्ष ओलीले जिल्ला जिल्लाबाट आएका स्काउटका कार्यकर्ताहरुलाई रोक्ने, खाना समेत नदिने, सभा सम्मेलन गर्न नदिएर सरकारले दमनको बाटो लिएको भन्दै प्रतिवाद गर्ने बताएका हुन्।

तुलसीलाल स्मृति प्रतिष्ठानले आइतबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारलाई दमन नगर्न खवरदारी समेत गरे।  

'यी सबै कुराहरुको सम्बन्धमा सरकारलाई हामी खवरदारी पनि गर्दछौं,' अध्यक्ष ओलीले सरकारलाई सचेत गराउँदै भने,'प्रतिवाद गर्छौ र आवश्यक पर्‍यो भने प्रतिरोध पनि।' 

उनले ठूलो त्याग, बलिदान र संघर्षबाट जनताको अनुकूल लोकतान्त्रिक शासन व्यवस्था आएको उल्लेख गर्दै त्यस परिस्थितिलाई तलमाथि हुन आफ्नो पार्टीले नदिने दावी समेत गरे।

प्रकाशित: १७ श्रावण २०७८ १३:४० आइतबार

प्रमुख प्रतिपक्ष दल नेकपा ऐमाल