राजनीति

एमाले अध्यक्ष ओलीको दावीः अबको निर्वाचनमा बहुमत ल्याएर देखाउँछौं

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याएर देखाउने दावी गरेका छन्। पार्टीको काठमाडौं जिल्ला कमिटीले शनिबार आयोजना गरेको बैठकमा बोल्दै उनले पार्टीमा खुट्टा तान्ने तत्वहरु अब पार्टी भित्र नरहेकाले बहुमत ल्याउन सकिने उनको तर्क थियो।  

'अबको निर्वाचनमा बहुमत ल्याएर देखाउँछौं। किनभने पार्टीमा खुट्टा तान्ने तत्वहरु छैनन्। अगाडि बढ्न खोज्यो, खुट्टा तान्ने, उम्मेदवार बनाउन खोज्यो नजित्नेलाई अघि सार्ने, जो पार्टीप्रति समर्पित छैन उसलाई उम्मेदवारको रुपमा अघि सार्नु पर्छ भन्ने,' उनले भने,'अहिले फ्लोर क्रस गरेर शेरबहादुर देउवाका पछिपछि कुद्ने छन् नि, यस्ता तत्वहरु नभएपछि पार्टीले स्पष्ट बहुमत ल्याउनेछ।'  

अध्यक्ष ओलीले आगामी निर्वाचनमा पार्टीले सशक्त हैसियत देखाउनुपर्ने उल्लेख गर्दै पार्टीलाई एकतावद्ध बनाएर लैजान पार्टीका सबै नेता, कार्यकर्ताहरुलाई योगदान गर्न पनि आग्रह गरे। उनले अगाडि भने, 'अब यस पार्टीले आगामी निर्वाचनमा सशक्त हैसियत विजयका साथ देखाउनु पर्नेछ। म कमरेडहरुलाई आग्रह गर्न चाहन्छु, स–साना कुराहरुमा नअल्झिकन, आन्तरिक मनमुटाव नराख्न, म कहाँ परे, मेरो पद कहाँ पर्‍यो भन्ने कुरामा ध्यान नदिई उपयुक्त ढंगले कार्य विभाजन गर्न, उपयुक्त ढंगले उम्मेदवार चयन गर्न र एकतावद्ध अनुशासित ढंगले पार्टीलाई अघि बढाउन हामी सबैको योगदान चाहिन्छ।'

यस्तै, अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारलाई हटाउने आदेश दिएर अवैध काम गरेको भन्दै सर्वोच्च अदालतप्रति आक्रोश व्यक्त गरे। जाली, किर्ते, फटाहा, प्रतिक्रियावादीहरुका दलालहरुले सरकार ढाल्न राष्ट्रपतिलाई दिएको निवेदन अवैध भएको दावी गर्दै उनले त्यस्तो अवैध, कीर्ते, जाली, अनुशासनहीन काम गर्नेलाई कारबाही गर्नुपर्नेमा अदालतले कारबाही गर्न पाइँदैन भनेर फैसला गरेको भन्दै आपत्ति समेत जनाएका छन्। 'जाली, किर्ते, फटाहा, प्रतिक्रियावादीहरुका दलालले अवैध काम गरेर सरकार ढाल्यो। त्यस्तो काम संसदीय व्यवस्थामा अनुशासनहीन काम हो। त्यो कारबाही गर्नुपर्ने विषय हो,' अध्यक्ष ओलीले अदालतको फैसलाप्रति कटाक्ष गर्दै भने, 'त्यस्ता तत्वलाई कारबाही गर्न पाइँदैन अदालतले भन्छ। यही व्याख्या सधैं चल्छ त?' 

अदालतले दलको ह्वीप उल्लंघन गरेर फ्लोर क्रस गर्नेहरुलाई पनि कारबाही नगरेकोमा अध्यक्ष ओलीको आपत्ति थियो।

यसैगरि, अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को लक्ष्य अनुसार काम गरेको दावी समेत गरे। उनले मुलुकलाई समृद्ध बनाउन नेपाली जनताले फेरि पनि आफ्नो पार्टीलाई बहुमत दिने दावी समेत गरे।

प्रकाशित: १६ श्रावण २०७८ १२:०३ शनिबार

एमाले अध्यक्ष केपी शर्मा ओली