राजनीति

प्रचण्ड र माधव नेपाललाई वैद्यको सुझावः प्रधानमन्त्रीको लोभ त्यागेर जनताको लागि काम गरौँ

नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य'किरण' ले संसद र सरकारमा रहेका कम्युनिष्टहरु मिलेर जान आग्रह गरेका छन्। ४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा अध्यक्ष वैद्यले यस्तो बताएका हुन्।

अध्यक्ष वैद्यले नेपालमा क्रान्तिकारी धारका पार्टीहरु एक हुनुपर्ने बेला आएको बताउँदै नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल'प्रचण्ड' र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीको लोभ त्यागेर जनताको सेवामा लाग्न पनि सुझाव दिए।

अध्यक्ष वैद्यले भने,'सरकारमा र संसदमा भएका कम्युनिष्टहरु एकठाउँमा बस्नुपर्छ, र सडकमा भएका कम्युनिष्टहरु पनि एक ठाउँमा उभिनुपर्छ, संसद र सरकारमा भएका कम्युनिष्टहरुले सडकमा भएका कम्युनिष्टहरुलाई दमन गरेर जानुभएन, प्रचण्डजी र माधव नेपालजी यही संसदीय व्यवस्थाबाट कति पटक प्रधानमन्त्री बन्नुहुन्छ के, प्रधानमन्त्रीको लोभ र मोह त्याग्नुस् अनि जनताको लागि काम गरौँ।'

त्यस्तै अध्यक्ष वैद्यले ओलीको कार्यशैली स्वेच्छाचारी देखिएको बताएका छन्। वैद्यले ओलीको कार्यशैली इगो र पदप्रतिष्ठामै अड्किएको बताए। अध्यक्ष वैद्यले यस्तो बुद्धिले कहिले रेल आउँछ भन्दै प्रश्न समेत गरे। उनले संसदवादी कम्युनिष्टलाई फेरि मिलेर अघि बढ्न सुझाएका छन्।  

'ओलीको कार्यशैली संसारमा म भन्दा अर्को कोही छैन भन्ने देखियो, पानीजहाज र रेलका कुरा गर्नुभयो, तर उहाँको कार्यशैली पद र प्रतिष्ठामै अड्किएको छ, यस्तै बुद्धिले रेल आउँछ र?' अध्यक्ष वैद्यले भने, 'संसदमा जाने साथीहरु सबै एक हुँदै, सकिन्छ, सबैलाई क्रान्तिकारी बनाऔँ, त्यो सकिन्न भने सरकार, सदन र सडकमा भएका कम्युनिष्टहरुबीच तालमेल गरौँ।'

अध्यक्ष वैद्यले नेपालमा सांसदवादी धारलाई अँगाल्ने र क्रान्तिकारी धारलाई अँगाल्ने दुई थरिका कम्युनिष्ट रहेको उल्लेख गरे।

प्रकाशित: ८ श्रावण २०७८ ११:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App