प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीका कारण प्रभावित उद्योग–व्यवसायलाई बचाउन राहत ‘प्याकेज’ ल्याइने घोषणा गरेका छन् ।
नेपाल उद्योग परिसङ्घको १८ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले निजी क्षेत्रका सबै उद्यमी–व्यवसायी र सम्बन्धित क्षेत्रका विज्ञसँगको परामर्शमा महामारी प्रभावित उद्योगधन्दालाई उकास्ने प्याकेज ल्याउने सोचमा आफू रहेको बताए ।
सबै नागरिकका लागि कोभिड–१९ विरुद्धको खोप निःशुल्क उपलब्ध गराउनु आफ्नो पहिलो प्रथमिकता भएको स्पष्ट गर्दै प्रधानमन्त्रीले आर्थिक विकास र लगानी प्रवद्र्धनलाई पनि उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको जानकारी गराए । ‘विकासलाई हामीले प्राथमिकता दिएका छौं’, तर त्योभन्दा पहिले आम नागरिकको ज्यान जोगाउने विषय महत्वपूर्ण हो’, उनले भने , ‘महामारीबाट पार पाउनु चुनौतीपूर्ण छ, हाम्रो पहिलो प्राथमिकता खोपको व्यवस्था नै हो ।’रासस
प्रकाशित: ६ श्रावण २०७८ १४:३३ बुधबार