राजनीति

प्रतिनिधिसभा बैठकमा शपथ र रेल्वेसम्बन्धी अध्यादेश पेश

प्रतिनिधिसभामा शपथसम्बन्धी अध्यादेश २०७८, रेल्वे अध्यादेश २०७८ लगायत अध्यादेश पेश भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ती अध्यादेश सभासमक्ष पेश गरेका हुन्।

बैठकमा औषधि (तेस्रो संशोधन) अध्यादेश २०७८, कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ पेश गरिएको छ।

यसैगरी गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा (पहिलो संशोधन अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८  र नेपाल नागरिकता ( पहिलो संशोधन) अध्यादेश २०७८ पेश गरे।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री कार्की बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश २०७७, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ प्रतिनिधिसभामा पेश गरे।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश सभासमक्ष पेश गरे। बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संवैधानिक परिषद् (काम कर्तव्य र अधिकार) सम्बन्धी अध्यादेश खारेज गरेको जानकारी गराए।

सभामुख सापकोटाले नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले प्रतिनिधिसभामा आफूलाई प्रधानमन्त्री पदमा विश्वास छ भन्ने सूचनालाई आजै बस्ने अर्काे बैठकमा प्रस्तुत गरिने जानकारी पनि गराए।

प्रकाशित: ३ श्रावण २०७८ १२:१३ आइतबार

प्रतिनिधिसभा बैठक अध्यादेश पेश