राजनीति

प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी हुँदै, आज दिउँसो ३ बजे शपथग्रहण

माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी हुने भएको छ। एक मन्त्री र एक राज्यमन्त्रीसहित माओवादी केन्द्र शनिबार प्रदेश सरकारमा सहभागी हुँदैछ।

शुक्रबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र संसदीय दलका नेता भरत साहलाई मन्त्रीमा र सांसद रुबी कर्णलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरेको प्रमुख सचेतक दिलीपकुमार साहले जानकारी दिए। संसदीय दलका नेता साह महोत्तरी–१ को ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुन भने सप्तरीकी कर्ण समानुपातिक सांसद हुन्। 

साह र कर्णले शनिबार दिउँसो ३ बजे मन्त्री पदमा शपथ लिन लागेको सचेतक साहले बताए। माओवादीले सरकारमा सहभागी हुने मन्त्रीको छनोट गरे पनि मन्त्रालयको टुंगो लाग्न सकेको छैन्। सचेतक साहका अनुसार अर्थ वा कृषि मन्त्रालयमध्ये मन्त्रालय पाउने निश्चित छ। ‘हामीले यही मन्त्रालय पाउनुपर्छ भनेर सर्त राखेका छैनौं,’ उनले नागरिकसँग भने, ‘जसपासँग भएको मन्त्रालय पाउने गरी हामी सरकारमा सहभागी हुन लागेका छौं।’  

जसपा उपेन्द्र यादव पक्षले महन्थ ठाकुर समूहका मन्त्रीलाई हटाई कांग्रेसलाई तीन मन्त्रालय दिएर जेठ २६ गते सरकारमा ल्याइसकेको छ। माओवादीलाई पनि त्यहीबेला सरकारमा ल्याउने भनिए पनि मन्त्रालय टुंगो नलाग्दा त्यसबेला सरकारमा सहभागी हुन सकेका थिएनन्। त्यो बेला माओवादी केन्द्रले जसपासँग दुई क्याबिनेट मन्त्री दिनुपर्ने अडान राखेका थिए। त्यसमा जसपा सहमत हुन सकेको थिएन। अहिले एक मन्त्री र एक राज्यमन्त्री लिएर माओवादी केन्द्र सरकारमा आउनुलाई राजनीतिक जानकारले केन्द्रको राजनीतिक पराकम्पका रूपमा लिएका छन्। 

केन्द्रीय सत्ता समीकरणको प्रभावका कारण माओवादी केन्द्र प्रदेश सरकारमा सहभागी हुन पुरानो अडान छाडेको जानकारहरू बताउँछन्।

प्रकाशित: २ श्रावण २०७८ ०१:३७ शनिबार

प्रदेश सरकार नेकपा (माओवादी केन्द्र) शपथग्रहण