राजनीति

विप्लव समूहका नेता हेमन्तप्रकाश वलीलाई रिहा गर्न सर्वोच्चको आदेश

फाइल तस्बिर

नेत्रविक्रम चन्द (विप्लव समूह)नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता हेमन्त प्रकाश वलीलाई सर्वाेच्च अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ। बिहीबार न्यायाधीशद्धय प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले उनलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।पछिल्लो समय उनी मुटुको उपचारका लागि सहिद गंगालाल राष्ट्रिय मुटुरोग केन्द्रमा छन्।

वलीलाई एनसेल मुख्यालयमा बम विस्फोट गराएको आरोप लागेको छ । प्रहरीले उनलाई २०७५ चैतमा काभ्रेबाट पक्राउ गरेको थियो। वलीसँगै पार्टीका अन्य आठ जना नेता तथा कार्यकर्ता पक्राउ परेका थिए। वलीलाई २०७६ साल जेठ १० गते जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।  

‘अब निज निवेदक हेमन्तप्रकाश वलीको हकमा पछि मुद्दामा प्रमाण बुझ्दै जाँदा ठहर भए बमोजिम हुने गरी प्रस्तुत मुद्दामा हाल मुद्दा पुर्पक्षको लागि साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नुहोला,’ सर्वोच्चको आदेशमा उल्लेख गरिएको छ । 

प्रकाशित: ३१ असार २०७८ १३:१७ बिहीबार