राजनीति

सरकार जनादेशबाट आत्तिएर अध्यादेशमार्फत् चल्न खोज्यो : एमाले

नेकपा एमालेले संसद छलेर कर्णाली प्रदेश सरकारले अध्यादेशमार्फत् बजेट ल्याउने तयारी गरिरहेको भन्दै विरोध जनाएको छ।

एमालेले पेश्की बजेट ल्याउन सहमति दिँदादिँदै संसदको बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत् बजेट ल्याइनुलाई असवैधानिक कदम भनेको छ। ‘सर्वोच्च अदालतले संसद पुर्नवहाली गरेका पार्टीका सांसदहरुलाई मन्त्री पदबाट मुक्त गर्न र संविधान र कानुन अनुसार सरकार गठन गर्न माग गर्दै संसदमा आफ्ना कुरा राखिरहेका थियौं,’ संसदीय दलका नेता यामलाल कँडेलले भने, ‘यति हुँदा पनि पेश्की बजेट ल्याउन सहमति दिँदादिँदै सरकारले संसद अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउन खोज्नु असंवैधानिक हो।’

उनले कर्णाली प्रदेश सरकार जनादेशबाट आत्तिएर अध्यादेशमार्फत् चल्न खोजेको आरोप पनि लगाए। उनले प्रदेश सभामा विनियोजन विधेयक विचाराधीन रहेको अवस्थामा एक तिहाई बजेटसहित पेश्की खर्च विधेयक ल्याउन पाउने संवैधानिक प्रावधान हुँदाहुँदै अलोकतान्त्रिक, गैरसंवैधानिक ढंगबाट अध्यादेशमार्फत् बजेट ल्याइनु दुर्भाग्यपूर्ण भएको बताए।

उनले यो घटनाबाट सरकार सुरुदेखि नै संसदबाट बजेट ल्याउन नचाहेको प्रष्ट भएको बताए। ‘सरकारले जुन बाटो अंगाल्दैछ, त्यो संवैधानिक होइन, मूलबाटोबाटै हिँडाउनका लागि पेश्की खर्च विधेयकमार्फत् एकतिहाई बजेट ल्याउन सहमति दिएका थियौं,’ उनले भने, ‘सर्वदलीय बैठकमा एउटा सहमति गरेर जाने अनि मध्यरात जनादेशलाई लत्याएर अध्यादेशमार्फत बजेट ल्याउनु संसदको अपमानबाहेक केही होइन।’

संसदीय दलका नेता कँडेलले एउटै संसदभित्र एउटा दल प्रमुख प्रतिपक्ष र सत्तापक्ष नहुने भन्दै फ्लोरक्रस गरेर मन्त्री बनेकाहरुलाई सरकारले हटाउनुपर्ने बताए। उनले सर्वोच्चको आदेशअनुसार दलले सदस्यका रुपमा स्वीकार गरिसकेको र सभामुखले सदनलाई जानकारी गराइसकेको अवस्थामा पनि सरकारले राखिराख्नु संविधान विपरित भएको बताए।  

संसदीय दलका नेता कँडेलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूहरुका मागहरु पूरा गर्नका लागि २३ गतेसम्मको समयसीमा मागेको पनि दाबी गरे। ‘मुख्यमन्त्रीकै सल्लाह अनुसार २४ गतेका लागि संसद बैठक बोलाइएको थियो,’ उनले भने, ‘हामी त्यति बेलासम्म मागहरु पूरा हुने आशमा थियौं, तर सरकार अर्कै बाटोको अभ्यासमा लागिसकेको रहेछ।’ कँडेलले ३० गते बेलुका छलफलका माध्यमबाट अघि बढ्ने सहमति भए अनुसार बिहीबार विहान आठ बजेका लागि बैठक आव्हान गरिएको भएपनि अघिल्लै राति संसद अधिवेशन अन्त्य गरिएकोमा आश्चर्य लागेको बताए।

प्रकाशित: ३१ असार २०७८ १०:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App