राजनीति

निर्वाचन प्रक्रिया स्थगित

सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गरेसँगै आगामी कात्तिक २६ र मंसिर ३ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको सबै प्रक्रिया स्थगित भएको छ। प्रतिनिधिसभा विटघन भई कात्तिक २६ र मंसिर ३ गते तोकिएको निर्वाचन संसद् पुर्नस्थापना भएसँगै नहुने भएको हो। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सर्वाेच्चको फैसलापछि निर्वाचन तयारी स्थगित भएको बताए। 

‘सर्वाेच्चको फैसला आइसकेपछि निर्वाचन तयारी अघि बढाउने कुरा भएन,’ उनले भने, ‘संसद् पुर्नस्थापनासँगै निर्वाचन गर्नुपर्ने आवश्यकता रहेन, अब आयोगको बैठक बसेर निर्वाचन तयारी स्थगित गर्छ।’ आयोगका अनुसार सर्वाेच्चबाट फैसलाको लिखित जानकारी आउन बाँकी रहे पनि आयोगले प्राप्त जानकारीकै आधारमा तयारी स्थगित गरेको हो।

आयोग प्रवक्ता श्रेष्ठले यसपाली निर्वाचनका लागि आयोगले केही तयारी अघि बढाएपनि आर्थिक रूपमा भने निर्वाचनकै लागि भनेर खासै खर्च भएको छैन। ‘निर्वाचनका लागि हामीसँग चार महिनाजति पर्याप्त समय थियो,’ उनले भने ‘त्यसकारण यसपाली निर्वाचन तयारीका लागि खासै खर्च भएको छैन।’ आयोगका अनुसार निर्वाचनका लागि अर्थमन्त्रालयले बजेट स्विकृत गरिसकेको थियो भने आयोगले आर्थिक कार्यविधि पनि स्विकृत भएको थियो।  

योसँगै निर्वाचनका लागि आयोगले केही दिन अघि मात्रै निर्वाचन कार्यतालिका प्रकाशन गरेको थियो। संविधानको धारा ७६ (५) बाट प्रधानमन्त्रीमा कसैको दाबी नपुगेको भन्दै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरि आगामी कात्तिक २६ मंसिर ३ गते मद्यावधि निर्वाचनको घोषणा गरेकी थिइन्। राष्ट्रपतिको निर्णय गैरसंवैधानिक भएको भन्दै सर्वाेच्च अदालतले सोमबार संसद् पुर्नस्थापना गर्ने निर्णय गरेको छ।

प्रकाशित: २९ असार २०७८ ०१:३६ मंगलबार

निर्वाचन तयारी स्थगित