राजनीति

सर्वोच्चको फैसला नेपाल र नेपाली जनताको जीत : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले गरेको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना भएको बताएका छन्। 

सर्वोच्च अदालतको फैसला पश्चात प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले यसलाई नेपाल र नेपाली जनताको जीतको संज्ञा दिए। उनले अदालतको आजको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो राखेको समेत बताए। ‘संविधानको रक्षा र लोकतान्त्रिक मूल्य मान्यताको रक्षा र राष्ट्रिय हितको रक्षा आजको ज्वलन्त आवश्यकता बनेको थियो। त्यसकारण म सर्वोच्चको यो फैसिलालाई स्वागत गर्दछु। मेरो तर्फबाट, पार्टीको तर्फबाट र गठबन्धनको तर्फबाट पनि र सम्मानित सर्वोच्च अदालत, सम्माननीय प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरुलाई हार्दिक बधाई तथा धन्यवाद पनि भन्न चाहन्छु। उहाँहरुले संविधान र राष्ट्रको गरिमालाई उँचो बनाउनुभयो र न्यायालयको गरिमामयलाई पनि उँचो बनाउनुभयो। यसको लागि उहाँहरु बधाईको पात्र हुनुहुन्छ। पटकपटकको संसद विघटन र पटकपटक संविधानमाथि भएको प्रहारबाट आम नेपाली जनता पनि आजित भएको स्थिति थियो। त्यसकारण यो आम नेपाली जनताको जीतको रुपमा अगाडि आएको मैले देखेको छु। यो इतिहासमै एउटा महत्वपूर्ण परिघटनाका रुपमा भएको छ। इतिहासले यसलाई सम्मान गरिराख्नेछ।’

प्रकाशित: २८ असार २०७८ १०:११ सोमबार

एमाले–माओवादी केन्द्र पुष्पकमल दाहाल