राजनीति

माओवादी केन्द्र भन्ने पार्टी खारेज गर्नुपर्छ : रायमाझी

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग एकता गर्दा क्रान्तिकारी हुने र आफूहरुले केपी ओलीलाई नेता मान्दा कसरी गैरक्रान्तिकारी हुन्छ ? भन्दै प्रश्न गरेका छन्।  

आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेताहरुको स्वार्थ, बनावटी र व्यक्तिगत लफडाको कारण तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेको दाबी गरे। उनले भने, ‘एमाले र माओवादी तालमेल गर्दा नेकपाले झण्डै दुईतिहाई नजिक मत पायो। पार्टी एकता पनि गरियो । नेकपा बनायौं। नेताहरुको स्वार्थको कारणले बनावटी र व्यक्तिगत लफडा गरेर पार्टी विभाजनतिर गयो। हामी अन्तिसम्म पनि एकताको पक्षमा उभियौं। पार्टी फुटन नदिनको लागि अधिकतम प्रयास गर्यौं। तर, नेताहरुको व्यक्तिगत स्वार्थको कारणले नेकपा फुट्यो। हामीलाई अहिले गैरक्रान्तिकारी भनिएको छ। प्रचण्डले ओलीसँग एकता गर्दा क्रान्तिकारी हुने, अनि बादल र टोपबहादुरले ओलीलाई नेता मान्दा गैर क्रान्तिकारी हुन्छ?’

उनले माओवादी केन्द्रले एमालेसँग गएको चुनावमा तालमेल नगरेको भए अवस्था अत्यन्तै नाजुक हुन्थ्यो भन्ने पनि टिप्पणी गरे। उनले माओवादी केन्द्रमा विगत ३३ वर्षदेखि एउटै व्यक्ति नेतृत्वमा रहेको भन्दै प्रचण्डप्रति कडा आक्रोश पोखे। उनले भने, ‘३३ वर्षसम्म माओवादी पार्टीको महाधिवेशन भएको छैन्। आधिकारिक रुपमा प्रतिष्पर्धात्मक महाधिवेशन नभएको तितो इतिहास हामीसँग छ। स्वघोषित नेता भएर प्रचण्डले इतिहास बनाएका छन्। कुनै विधि, विधान, चिन्तन, कार्यशैलीमा ध्यान नभएपछि पार्टी तुहिँदै तुहिँदै गयो। माओवादी केन्द्र भन्ने पार्टी अवैधानिक छ। यसलाई खारेज गर्नुपर्छ। माओवादी केन्द्रले संविधान, कानून र राजनीतिक दलसम्बनधी ऐन केही पनि मानेको छैन्।’

आफूले बनाएको संविधान, कानून र ऐन नमान्ने अनि अराजकता र अस्थिरता सिर्जना गर्दै हिँड्ने काम प्रचण्डबाट भएको पनि उनको आरोप छ ।

उनले आफूले प्रधानमन्त्री नपाएको झोंकमा प्रचण्डले प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने हर्कत गरेको पनि गम्भीर आरोप लगाए। २०६९ सालमा माओवादीले नाम मात्रैको महाधिवेशन गरेको स्मरण गर्दै उनले त्यसयता कहिल्यैपनि महाधिवेशन नगरेको जिकिर गरे। उनले माओवादी केन्द्रमा वर्षैपिच्छे केन्द्रीय कमिटी परिवर्तन भैरहेको पनि खुलासा गरे।

प्रकाशित: २६ असार २०७८ ११:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App