राजनीति

पेचिलो बन्दै सदस्यता विवाद: अदालतको सहारा लिने तयारी

क्रियाशील सदस्यता वितरणलाई लिएर नेपाली कांग्रेसभित्र विवाद बढ्दै गएको छ। केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिमा उजुरी थपिनेक्रम जारी रहेका बेला बिहीबार महामन्त्री शशांक कोइरालाले यो विषयको टुंगो लाग्न नसके तोकिएको मितिमा १४औं महाधिवेशन हुन नसक्ने बताएका छन्।  

कांग्रेसको पछिल्लो बैठकले कार्यतालिका संशोधन गरी भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्ने निर्णय गरेको छ। ४६ जिल्लाबाट क्रियाशील सदस्यताका विषयमा छानबिन समितिमा उजुरी परेको जानकारी दिँदै महामन्त्री कोइरालाले उजुरी हेरेर टुंगो लगाउने प्रयास भइरहेको पनि बताए। उनले भने, ‘क्रियाशील सदस्यता विवाद यो महिनाभित्र टुंग्याउन सकिएन भने त तोकिएको समयमा महाधिवेशन हुनेमा आशंका भइहाल्छ नि। अहिलेको अवस्थामा टाइममै महाधिवेशन हुन्छ कि हुँदैन, प्रश्नचिह्नचाहिँ छ।’

यसअघि बिहीबार नै बसेको संस्थापन इतर समूहको बैठकले संस्थापन पक्षले महाधिवेशन प्रभावित गर्न क्रियाशील सदस्यता वितरणमा जथाभावी गरेको भन्दै सम्पूर्ण ध्यान छानबिनमा लगाउने निष्कर्ष निकालेको एक नेताले बताए। संस्थापन पक्षले अन्य पार्टीबाट प्रवेश गरेका नेता कार्यकर्तालाई आफूखुसी क्रियाशील सदस्यता वितरण गरेको इतर पक्षको आरोप छ।

यसरी पूर्वसहमतिविपरीत वितरित सदस्यता आफूहरूलाई मान्य नहुने संस्थापन इतर समूहका ती नेताले बताए। संशोधित कार्यतालिका अनुसार कांग्रेसले असार मसान्तभित्र सदस्यता छानबिन टुंग्याएर सभापति शेरबहादुर देउवाले प्रमाणित गरी केन्द्रीय निर्वाचन समितिलाई उपलब्ध गराउनुपर्नेछ। तर विवाद बढ्दै जाँदा निर्धारित मितिमा छानबिन सकिनेमा समितिका सदस्य नै ढुक्क छैनन्।

समयमै सदस्यता विवाद टुंगो लाग्न नसके विवादितलाई थाती राखेर पनि सहमतिमा महाधिवेशन गर्न सकिन्छ। भदौभित्र महाधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यतामा कांग्रेस छ। समयमा महाधिवेशन हुन नसके अर्को संकट आउनेछ। त्यस्तो अवस्था आए कोरोना भाइरसलाई देखाउँदै अदालतको सहारामा महाधिवेशन सार्न समय लिने विकल्प बाँकी रहने नेताहरूको बुझाइ छ। 

कोरोना भाइरस संक्रमणको अवधिलाई शून्य समय मानेर महाधिवेशनका लागि थप समय मागसहित अदालत जाने विषयमा अनौपचारीक कुराकानी भइरहेको जानकारी दिँदै एक नेताले भने, ‘अदालतबाट थप समय लिने विषयमा अनौपचारीक कुराकानी भएको छ। तर त्यो अन्तिम विकल्प हो। अहिलेचाहिँ तोकिएकै समयमा महाधिवेशन गराउने भन्नेमै छौं।’

प्रकाशित: २५ असार २०७८ ०५:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App